बैतडी- नेकपा माओवादी केन्द्रका सचिव एवं सुदूरपश्चिम पार्टी इन्चार्ज डिलाराम आचार्य अस्वस्थ भएका छन् । आचार्य पार्टीको तीन महिने ‘जनतासँग माओवादी’ नामक विशेष रुपान्तरण अभियानको आवधिक समिक्षाका लागि सुदूर पहाडमा थिए । बैतडीमा कार्यक्रम सम्पन्न गरेर मंगलबार अछाम समीक्षा बैठकमा सहभागी हुन पुगेका आचार्य एक्कासि अस्वस्थ भएका हुन् ।
सोमबार र मंगलबार नेता आचार्य नेकपा माओवादी बैतडीले सञ्चालन गरेको अभियानको समिक्षा कार्यक्रम सकेर अछाम गएका थिए । कार्यक्रमका लागि अछाम पुगेका उनको एक्कासि स्वास्थ्यमा समस्या आएपछि बयलपाटा अस्पताल लगिएको थियो । सो अस्पतालमा उपचार सम्भव नभपछि उनलाई बुधबार नेपालगञ्ज लगिएको छ । उनलाई सेनाको हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिए ।
आचार्यको एकाएक बोली बन्द हुनुका साथै शरीरको दाहिने भागमा प्यारालाइसिस भएको बताइएको छ । अहिले नेपालगन्ज मेडिकल कलेजमा उनको उपचार सुरु भैरहेको छ ।




