बैतडी- भारतीय नोटको कारोबार प्रतिबन्द गरेपछि स्थानीय समस्या परेका छन् । नेपाल राष्ट्र बैङ्कले एक सय दरभन्दा ठुला दरका भारतीय नोट साथमा राख्न, ओसारपसार तथा कारोबारमा प्रतिबन्ध गरेको सूचना सार्वजनिक भएपछि स्थानीय समस्यामा परेका हुन् । नेपाल–भारत सीमामा पर्ने झुलाघाट बजारमा भारतीय रुपियाँ साट्ने सटही काउन्टर २३ वर्षदेखि बन्द छ ।
काउन्टर बन्द हुँदा नेपाली मुद्रा साट्न चर्को कमिसन दिनुपर्ने बाध्यता बनेको बैतडीका स्थानीयहरुले स्थानीय बताए । भारतमा मजदुरी गरेर स्वदेश फर्किनेलाई एक सय भारतीय रुपियाँ खोज्न पनि भारतीयलाई कमिसन दिनुपर्ने अवस्था आएको छ । मजदुरी गरेर घर फर्किंदा अधिकांश नेपालीसँग पाँच सय र दुई हजार भारतीय रुपियाँका नोट हुने गरेको मजदुरले बताएका छन् ।
घर फर्किंदा एक सय रुपियाँ भारतीय मुद्रा खोज्न कमिसन दिनुपर्ने अवस्था आएको भारतबाट फर्केका महेश जागरीले गुनासो गरेका छन्। राष्ट्र बैङ्कले भारत भ्रमणका लागि भारु २५ हजारसम्म र औषधोपचारका लागि भारु ५० हजारसम्मको सटही सुविधा बैङ्क तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख गरेको छ ।
महाकाली भन्सारसँगै रहेको झुलाघाट सटही काउन्टर द्वन्द्वका बेला २०५७ सालमा बन्द भएको थियो । व्यापार, व्यवसाय र उपचारका लागि नेपालबाट भारत जाँदा पाँच प्रतिशत कमिसन दिएर नेपाली मुद्रा साट्नुपर्ने बाध्यता रहेको नागरिकहरुको गुनासो छ । आतपत्कालीन समयमा उपचारका लागि भारतको पिथौरागढ जाँदा नेपाली मुद्रा नचल्दा पाँच प्रतिशत कमिसन दिएर मुद्रा साट्नुपर्ने बाध्यता छ ।
गोठालापानी शाखाको एटिएम सेवाबाट जुनसुकै बेला पनि १० हजार रुपियाँसम्म साट्न सकिने सेवा उपलब्ध गराएको राष्ट्रिय वाणिज्य बैङ्क बैतडीका मेनेजर दीपेन्द्र अवस्थीले बताए । झुलाघाट नाकाबाट दैनिक लाखौँ रुपियाँको कारोबार हुने गरेको छ । सीमा नाकामा सटही काउन्टर नहुँदा नेपाली व्यवसायी र मजदुरले समस्या भोग्नु परेकोे गुनासो गरेका छन् ।




