Sagun Khabar
बैतडीका ५ ठाउँमा यात्रु सहायता र एक ठाउँमा नागरिक सहायता कक्ष सञ्चालन 

बैतडी –चाडपर्वलाई लक्षित गरेर बैतडी प्रहरीले जिल्लाका ५ ठाउँमा यात्रु सहायता कक्ष र एक ठाउँमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ । दशैंतिहार जस्ता चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष र नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

जिल्लाको खोड्पे,पाटन, सतबाँझ, गोकुलेश्वर र गोठलापानीमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ भने सीमा नाका झुलाघाटमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरी निरीक्षक खत्रीले बताए । 

यात्रु सहायता कक्षमार्फत यात्रुहरुलाई सहयोग पुर्याउने उद्देश्य रहेको बताइएको छ । तोकिएको भाडा भन्दा बढी लिन नदिने, क्षमताभन्दा बढी यात्रुहरु बोक्न नदिने र समस्यामा परेका यात्रुहरुलाई गन्तव्य सम्म पुर्याउन यात्रु सहायता कक्षबाट काम गरिने प्रहरी निरीक्षक खत्रीले बताए । 

यस्तै सीमा नाका झुलाघाटमा सञ्चालनमा ल्याइएको नागरिक सहायता कक्षबाट स्वदेश फर्कने नागरिकहरुलाई सहयोग गरिने बताइएको छ । सीमा नाकामा स्वदेश फर्कने नागरिकलाई कुनै समस्या नहोस भन्नका लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको उनले बताए । उनले भने ‘चाडपर्वको बेला नागरिकलाई समस्या नहोस भनेर हामीले सहायता कक्ष सञ्चालनमा ल्याएका हौं ।’

सञ्चालन गरिएका प्रत्येक सहायता कक्षमा कम्तीमा दुईजना सुरक्षाकर्मी खटिएका छन् । छठ पर्वसम्म यात्रु सहायता कक्षलाई निरन्तरता दिइने बताइएको छ ।

दशैं, तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गरेर जिल्लाका अन्य स्थानमा पनि चाँडै यात्रु सहायता कक्ष स्थापना गरिने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । हरेक बर्ष चाडपर्वको समयमा प्रहरीले सहायता कक्ष सञ्चालनमा ल्याउने गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update