बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका १ स्थित रीम स्वास्थ्यचौकीले आजदेखि चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन थालेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरेर स्वास्थ्यचौकीबाट चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवाको शुरुवात गरिएको स्वास्थ्यचौकीका सिनियर अहेव शान्तिप्रसाद जोशीले बताए ।
यसअघि चौबिसै घण्टा सुरक्षित प्रसूती सेवा प्रदान गरिरहेको स्वास्थ्य संस्थाले अब अन्य आकस्मिक स्वास्थ्य सेवा पनि चौबिसै घण्टा उपलब्ध गराउन थालेको स्वास्थ्यचौकी इञ्चार्ज नन्दराज भट्टले बताए ।
स्थानीय नागरिकको आधारभूत स्वास्थ्य सेवामा थप पहुँच पुर्याउने उद्देश्यसहित चौबिसै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको हो ।
वडा अध्यक्ष नवराज जोशीको उपस्थितीमा स्वास्थ्यचौकीले चौबिसै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यको घोषणा गरेको सिनियर अहेब जोशीले बताए ।
रीम स्वास्थ्यचौकीमा चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा शुरु भएसंगै दोगडाकेदारमा चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाको संख्या ६ पुगेको छ ।
यसअघि सित्तड स्वास्थ्यचौकी, न्वाली स्वास्थ्यचौकी, श्रीकेदार स्वास्थ्यचौकी, श्रीकोट स्वास्थ्यचौकी र कटौंजपानी स्वास्थ्यचौकीले चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा शुरु गरिसकेका छन् ।
स्थानीयस्तरमा रहेका स्वास्थ्य संस्थाहरुबाट चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा सुचारु भएपछि स्थानीय नागरिकलाई सहज भएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए ।




