Sagun Khabar
काल बन्दै बैतडीका ग्रामीण कच्ची सडक 

बैतडी –गएको आइतबार बैतडीको सिगास गाउँपालिका ३ का ६४ बर्षीय रामसिंह धामी उपचारको लागि डडेल्धुरा जाँदै थिए । तर अस्पताल नपुगीकनै सोही दिन भएको जिप दुर्घटनामा उनले ज्यान गुमाए । ज्यान बचाउनका लागि अस्पताल तर्फ हिँडेका धामी कहिले नफर्कने गरी अस्ताए । सो जिप दुर्घटनामा उनीसंगै अन्य दुईजनाको पनि मृत्यु भयो भने १२ जना घाइते भए ।कच्ची सडकमा जिप अनियन्त्रित भएपछि जिप दुर्घटना भएको हो । त्यसैमा सिकारु चालकले अनियन्त्रित भएको जिपलाई नियन्त्रण गर्न सकेन् ।

दुर्घटनामा परी घाइते भएका राजेन्द्रसिंह धामी भन्छन् –‘ग्रामीण कच्ची सडकहरु काल बन्दैछन् । सडकको स्तरोन्नती छैन् । सडकमा ट्राफिक नियम पनि पालना हुँदैन् । नियमन गर्ने निकायको उपस्थिती नहुँदा सवारी दुर्घटना बढ्दै गएका छन् ।’

स्वास्थ्य सन्देश
Atrya hospital

गएको वैशाख २१ गते पञ्चेश्वरको गणमेश्वरमा भएको जिप दुर्घटनामा ५ जनाले ज्यान गुमाए । वैशाख २० गते चट्याङ लागेर मृत्यु भएका वडा सदस्य गोविन्द भण्डारीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने क्रममा भएको जिप दुर्घटनामा एकै गाउँका ५ जनाले ज्यान गुमाएका हुन् । सो दुर्घटनामा परी घाइते भएकाहरु अझै पनि अस्पतालमै छन् ।

सवारी दुर्घटनाको तथ्यांक हेर्दा कच्ची सडकमा बढी दुर्घटना भएको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । चालु आर्थिक बर्षमा  अहिले सम्म १५ ओटा सवारी दुर्घटना भएकोमा १० ओटा कच्ची सडकमा भएका खड्काले बताए । उनले भने ‘सवारी दुर्घटनाको विवरण हेर्दा कच्ची सडकमा बढी दुर्घटना भएका देखिएको छ ।’

जिल्लामा चालु आर्थिक बर्षमा सवारी दुर्घटनाबाट ३४ जनाको ज्यान गएको छ भने ७८ जना घाइते भएका छन् । रुट परमीट नभएका सडकहरुमा समेत सवारी साधन सञ्चालन गर्दा दुर्घटना बढेको प्रहरीको भनाई छ । 

कतिपय ठाउँमा चालकको लापरवाहीले सडक दुर्घटना भएका छन् भने कतिपय ठाउँमा सडकका कारण दुर्घटना भएका छन् । कच्ची सडकहरुमा ग्रेड नमिलेका, मोड सुधार नभएकाले पनि सवारी दुर्घटना बढी हुने गरेको पाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । यस्तै क्षमता भन्दा बढी यात्रु बोक्ने परीपाटीले पनि सडक दुर्घटना बढ्दै गएका उनले बताए । 

स्थानीय तहहरुले जथाभावी खनेका सडकहरु स्तरोन्नती नहुँदा सवारी दुर्घटना बढ्दै गएका बताइएको छ । ग्रामीण कच्ची सडकहरुमा ट्राफिक नियम पालना नगर्ने, सवारी चालक अनुमति नभएका सिकाहरु चालकहरुले सवारी साधन चलाउने लगायतका कारणले सवारी दुर्घटना बढ्दै गएका सिगास ३ का राजेन्द्र धामीले बताए । ग्रामीण कच्ची सडकमा क्षमता भन्दा बढी यात्रु बोक्ने र गुणस्तरीय सडक नहुँदा बढी दुर्घटना हुने गरेको उनले बताए ।

उनले भने ‘कच्ची सडकमा सञ्चालन हुने सवारी साधनको निगरानी राम्रोसंग गर्न नसक्ने दुर्घटनाहरु बढी रहन्छन् । त्यसैले कच्ची सडकहरुमा सञ्चालन हुने सवारी साधनको अनुगमन हुनु जरुरी छ ।’

प्रकाशित मिति: शनिबार, असार २६, २०७८  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update