बैतडी –बैतडीका १० ओटा स्थानीय तहमध्ये सातओटा पालिका प्रमुख प्रशासकीय अधिकृत विहिन बनेका छन् । जिल्लाका ५ ओटा गाउँपालिकामा हालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो । नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको एक महिना नपुग्दै उनीहरुको सरुवा गरिएको छ ।
जिल्लाको सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा भएको हो ।
यस्तै जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र पाटन नगरपालिका पनि प्रमुख प्रशासकीय अधिकृत विहिन रहेका छन् । ती पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा भएपछि नयाँ प्रमुख प्रशासकीय अधिकृत नआउँदा समस्या भएको छ ।
जिल्लाको सिगास गाउँपालिकामा असोज १ गते हाजिर भएका कृष्णप्रसाद घिमिरेको नुवाकोटको लिखु गाउँपालिकामा सरुवा भएसंगै पालिका प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको छ । पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा फेरि समस्या सिर्जना भएको गाउँपालिकाले जनाएको छ ।
जिल्लाको डिलाशैनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा यही असोज ८ गते हाजिर भएका रञ्जय पटेलको सर्लाहीको धनकौल गाउँपालिकामा सरुवा भएको छ । गाउँपालिकामा हाजिर भएको ८ दिनमै प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि डिलाशैनी पनि प्रमुख प्रशासकीय अधिकृत विहिन भएको छ ।
यस्तै पञ्चेश्वर गाउँपालिकामा खटाएका उज्जवल आनन्द गाउँपालिकामा हाजिर नभइकनै सरुवा भएका छन् । मन्त्रालयले खटाएका उनको अन्यत्रै सरुवा गरिसकेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । उनले भने ‘पालिकामा आउँछु भनेर २ पटक धनगढी गाडी समेत पठाए । तर अन्तिममा उनी गाउँपालिका नपुगेरै सरुवा भइसकेका छन् ।’
यही असोज १ गते मात्रै शिवनाथ गाउँपालिकामा हाजिर भएका सुशीलकुमार शाहको पनि सरुवा भएको छ । उनी शुक्रबार शिवनाथबाट गइसकेका गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । संघीय मन्त्रालयले मनलाग्दी सरुवा गर्दा आफूहरुलाई काम गर्न निकै असहज भएको उनको भनाइ छ । उनले भने ‘पालिकामा नयाँ अधिकृत आएपछि उनको नाममा खाता समेत सञ्चालन भइसकेको थियो । तर १५ दिन नपुग्दै सरुवा भएपछि समस्या भएको छ । विकास निर्माणका काम मात्रै होइन् कर्मचारीहरुलाई तलब खुवाउन समेत समस्या भएको छ ।’
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको भदौ ५ गते सिगास गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कृष्णप्रसाद घिमिरे, शिवनाथ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुशीलकुमार साह, पञ्चेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उज्ज्वल आनन्द, डिलाशैनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रञ्जय पटेल र दोगडाकेदार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गजेन्द्रप्रसाद थारुलाई खटाएको थियो ।
दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रप्रसाद थारु बाहेक अरु चार जनाको हाजिर भएको १५ दिन नपुग्दै सरुवा भएको छ ।
यस्तै जिल्लाको मेलौली नगरपालिकामा खटाएका चोमेन्द्र न्यौपाने पनि हाजिर नभएपछि मेलौली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन छ । जिल्लाको दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर भुजेल र पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको गत महिनामात्रै सरुवा भएको थियो । उनीहरु दुवै जनाको तिन महिना नपुग्दै सरुवा भएको हो । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा अहिले निमित्तको भरमा सञ्चालन भइरहेका छन् ।
स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार ठप्प भएको छ भने अन्य प्रशासनिक कामहरुमा समेत बाधा पुगेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफूखुसी सरुवा गर्दा पालिकाहरुले समस्या बेहोर्नु परीरहेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।




