बैतडी –प्रमुख प्रशासकीय अधिकृत विहिन रहेका बैतडीको दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकामै कार्यरत कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।
दशरथचन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नवीनचन्द्र पाण्डेय र मेलौली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सपना कार्कीलाई दिइएको मन्त्रालयले जनाएको छ ।
उनीहरु दुवै जनालाई बढीमा दुई महिना आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिएको मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ ।
मेलौली नगरपालिकामा कार्यरत कार्कीलाई यसअघि पनि असार मसान्त सम्मका लागि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो । असारपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको थियो ।
मन्त्रालयले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएका चोमेन्द्र न्यौपाने हाजिर नभइकनै अन्यत्र सरुवा भएपछि नगरकार्यपालिकाले निर्णय गरेर कार्कीलाई आर्थिक तथा प्रशासनिक अधिकार प्रदान गर्न मन्त्रालयलाई पत्राचार गरेको थियो ।
कार्कीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरेसंगै अब नगरपालिकामा आर्थिक तथा प्रशासनिक कामहरु अघि बढ्ने जनाइएको छ ।
यस्तै दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर भुजेलको सरुवा भएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको अवस्थामा पाण्डेयलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्राप्त भएको नगरपालिकाका सूचना अधिकारी राजबहादुर बिष्टले बताए ।
पाण्डेयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएसंगै नगरपालिकामा आर्थिक तथा प्रशासनिक कामहरु सुचारु भएको सूचना अधिकारी बिष्टले बताए ।




