बैतडी –बैतडीमा सर्पको टोकाइबाट एकजना घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका ६ पोखरीका ४२ बर्षीय शंकर पोखरेललाई सर्पले टोकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
आफ्नै घर नजिकैको बारीमा खुर्सानी टिपीरहेका बेला पोखरेललाई शनिबार दिउँसो १ बजेतिर सर्पले टोकेको बताइएको छ । उनको बाँया खुट्टामा सर्पले टोकेको हो । सर्पको टोकाइबाट घाइते भएका पोखरेललाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ ।
बैतडीमा पछिल्लो समयमा सर्पदंशका घटना बढ्दै गएका छन् । शुक्रबार मात्रै दशरथचन्द नगरपालिका २ देहीमाण्डौंकी एक महिलालाई सर्पले टोकेको थियो । उनी जिल्ला अस्पताल बैतडीमा उपचार गराएर घर फर्कीसकेकी छन् ।
गएको वैशाखयता बैतडीमा सर्पको टोकाइबाट चार जनाको ज्यान गईसकेको छ । सर्पले टोकीहालेमा जिल्ला अस्पताल बैतडीमा उपचार गराउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । जिल्ला अस्पतालमा सर्पदंश उपचार केन्द्र भएकाले सर्पको टोकाइबाट घाइते भएकाहरुको उपचार हुने गरेको छ ।
तर ग्रामीण क्षेत्रमा सर्पले टोकेमा वैद्यकहाँ झारफुक गर्ने प्रचलन बढी रहेकाले नागरिकले अकालमै ज्यान गुमाउने गरेका छन् ।




