बैतडी –दशैं, तिहार, छठ जस्ता चाडपर्वहरुलाई लक्षित गरेर देशका विभिन्न ठाउँमा आजदेखि सुपथ मूल्य पसल सञ्चालन आएपनि बैतडीमा भने यो बर्ष पनि सुपथ मूल्य पसल सञ्चालन नहुने भएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय पाटनमार्फत सुपथ मूल्यको पसल सञ्चालन हुँदै आएको भएपनि विगत दुई बर्ष यता सुपथ मूल्य पसल सञ्चालनमा आएको छैन् । सुपथ मूल्य पसलमा चिनी लगायतका दैनिक उपभोग्य सामग्रीहरु सस्तो मूल्यमा उपलब्ध हुने भएपनि सुपथ मूल्य पसल सञ्चालन नहुँदा नागरिक महंगीको मारमा परेका छन् ।
सरकारले सुदूरपश्चिमका बैतडी र डोटी बाहेकका जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । बैतडीमा सुपथ मूल्य पसल सञ्चालनमा नआउँदा समस्या भएको नागरिकले बताएका छन् ।
दशैंजस्ता चाडपर्वको मुखमा महंगी बढेको र सुपथ मूल्य पसल समेत सञ्चालन नआउँदा गरीब नागरिकहरुलाई चाडपर्व मनाउन मुस्किल भएको पाटनका स्थानीय लवेदव जोशीले बताए । उनले भने ‘चाडपर्वका बेला सरकारले नागरिकलाई सहुलियत प्रदान गर्नुको सट्टा महंगीले ढाड सेकेको छ । यस्तो अवस्थामा समेत बैतडीमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छैन् ।’
सुपथ मूल्य पसल सञ्चालनका लागि पाटन नगरपालिकाले साल्ट ट्रेडिङ धनगढीलाई पत्राचार समेत गरेको थियो । पाटनस्थित डिपो कार्यालयमा सुपथ मूल्य पसल सञ्चालनका बिषयमा अहिले सम्म कुनै जानकारी नआएको कार्यालयका कर्मचारी दिलिप भट्टराईले बताए ।
सुदूरपश्चिमकै अन्य जिल्लामा सुपथ मूल्य पसल सञ्चालन हुँदा बैतडीमा नहुनु दुखद भएको स्थानीयहरुले बताएका छन् । यहाँका स्थानीय सरकारहरुले समेत सुपथ मूल्य पसल सञ्चालन गर्न सकेका छैनन् ।
चाडपर्वको मुखमा महंगी आकाशिएको धेरैको गुनासो छ । चिनी, चामल, तेल लगायतका दैनिक उपभोग्य वस्तुको भाउ आकाशिएको स्थानीय तेजराज भट्टले बताए ।




