Sagun Khabar
शिवनाथ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा फेरि महता 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी फेरि नरेन्द्रसिंह महतालाई दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढीमा दुई महिनाका लागि महतालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । 

गाउँपालिकामा खटाएका प्रमुख प्रशासकीय अधिकृत सुशीलकुमार शाहको २० दिन नपुग्दै सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको थियो । असोज १ गते पालिकामा हाजिर भएका शाह असोज १९ गते पालिकाबाट सरुवा भएर गएका थिए । 

प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका महताले शाह आउनुभन्दा पहिला पनि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीका ५ ओटा गाउँपालिकामा गएको भदौमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको थियो । ती मध्ये डिलाशैनी गाउँपालिका, शिवनाथ गाउँपालिका र सिगास गाउँपालिकामा खटिएका प्रमुख प्रशासकीय अधिकृतहरुको २० दिन नपुग्दै सरुवा भएको छ भने पञ्चेश्वर गाउँपालिकामा खटिएका उज्जवल आनन्द पालिकामा हाजिर नहुँदै सरुवा भएका छन् । 

नयाँ खटिएका मध्ये दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रप्रसाद थारुको मात्रै सरुवा भएको छैन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरुको मनलाग्दी सरुवा गर्दा आफूहरुलाई काम गर्न निकै असहज हुने गरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । 
 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update