बैतडी, देशको ऐन कानुनले शिक्षकहरूलाई कुनै पनि राजनीतिक दलको सदस्यता लिन, प्रचारप्रसार गर्न र दलीय कार्यक्रममा भाग लिन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । तर, बैतडीमा भने ऐन कानुनको धज्जी उडाउँदै शिक्षकहरू खुल्लमखुल्ला राजनीतिक दलको अधिवेशनमा होमिएका छन् ।
नेपाली कांग्रेसको असोज ३ र ४ गते सम्पन्न वडा अधिवेशनमा विभिन्न विद्यालयमा कार्यरत प्रधानाध्यापक तथा शिक्षकहरू ब्यानर र नवनिर्वाचित पदाधिकारीहरूसँगै फोटो सेसन गर्दै सामाजिक सञ्जालमा छाएपछि अहिले यो विषय सामाजिक स्तरमा तीव्र बहस र आक्रोशको केन्द्र बनेको छ ।
शिक्षा मन्त्रालयको आदेशहरूले दलीय राजनीतिमा लाग्ने शिक्षकलाई जागिरबाटै बर्खास्त गर्नेसम्मको कडा कानुनी व्यवस्था तोकेको छ । तर, प्रमाणका रूपमा फोटो, नाम र विद्यालयको विवरण नै सार्वजनिक भइसक्दा पनि बैतडीका शिक्षासम्बन्धी नियमनकारी निकायहरू भने कारबाही गर्नुको सट्टा पन्छिने र गैरजिम्मेवार बनेका छन् ।
प्रशासकहरूको गैरजिम्मेवार शैलीः प्रमाण छैन भन्दै पन्छिने होड
सामाजिक सञ्जाल र मिडियामा शिक्षकहरू दलको अधिवेशनमा सहभागी भएका स्पष्ट तस्बिरहरू छताछुल्ल हुँदा पनि शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख दशरथ भट्टले प्रमाणित हुने आधार नभएको दाबी गर्दै दायित्वबाट उम्किने प्रयास गर्नुभएको छ ।
इकाई प्रमुख भट्टसँग यसरी स्पष्ट रूपमा राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई के कारबाही हुन्छ ? भनी सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “अहिलेसम्म केही प्रमाणित भएको छैन । मिडिया र सामाजिक सञ्जालमा आएका खबरहरुको आधारमा १० वटै पालिकालाई सचेत गराउन पत्राचार गरेका छौँ । प्रमाणित भएपछि के कारबाही गर्ने भन्ने कुरा पछिको हो ।“ स्पष्ट प्रमाण अगाडि हुँदाहुँदै पनि इकाई प्रमुखले देखाएको यो पन्छिने शैली नियतवश हो या लाचारी, भन्ने प्रश्न खडा भएको छ ।
यस्तै, पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्यालले आफू यस विषयमा बेखबर रहेको भन्दै शिक्षा शाखामा बुझ्न पन्छिनुभयो । त्यसपछि पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टसँग सम्पर्क गर्दा उहाँले झनै गैरजिम्मेवार जवाफ दिनुभयो । समाचार र तस्बिरहरू आउँदा पनि पालिकाले कुनै ठोस कदम नचालेको स्वीकार्दै भट्टले भन्नुभयो, “इकाईको पत्र आएपछि विद्यालयहरूलाई पत्राचार मात्र गरेका छौँ ।“ शिक्षकको नाम, फोटो र विद्यालय नै सार्वजनिक हुँदा पनि किन अनुसन्धान नगरिएको भन्ने प्रश्नमा उहाँले केवल ’बुझ्दै छौँ’ भनेर खासै चासो देखाउनुभएन ।
दशरथचन्द नगरपालिका कडाः सदस्यता भेटिए बर्खास्त गर्छौँ
अन्य पालिकाका अधिकारीहरू गैरजिम्मेवार बनिरहँदा दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिश प्रकाश भट्टले भने विषयलाई गम्भीरतापूर्वक लिएको बताउनुभएको छ । मिडियामा आएका कुराहरूमा केही सत्यता रहेको स्वीकार्दै उहाँले केही शिक्षकहरू मतदान प्रतिनिधिका रूपमा खटिएको जानकारी आएकाले थप स्पष्टीकरण सोध्न र सचेत गराउन पालिकामा बोलाइएको बताउनुभयो ।
“यदि कुनै पनि शिक्षकले दलीय सदस्यता लिएर राजनीतिमा प्रत्यक्ष आबद्ध भएको पाइएमा जागिरबाट बर्खास्ती गर्नेसम्मको कडा कारबाही हुन्छ,“ शिक्षा शाखा प्रमुख भट्टले चेतावनी दिँदै भन्नुभयो, “इकाईबाट अनुगमन र निगरानीका लागि मात्र पत्र आएको भए पनि नगरपालिकाका तर्फबाट हामी अझ कडाइका साथ अनुसन्धान थाल्नेछौँ ।“
समाजिक सञ्जालमा फोटो सहित अधिवेशनमा खटिएका ’हेडसर’ र शिक्षकहरूको नामावली
नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भई ब्यानरसहित फोटो खिचाएर सामाजिक सञ्जालमा पोस्ट्याउने शिक्षक तथा प्रधानाध्यापकहरूको सूची लामै छ ।
दशरथचन्द नगरपालिका ९ जोशीबुङ्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गादत्त जोशी (चिन्तामणि)
पाटन नगरपालिका ९ ज्ञानेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज जोशी
पाटन नगरपालिका ८ ज्ञानेश्वर माध्यमिक विद्यालयका शिक्षक कृष्णसिंह बिष्ट
सुर्नया गाउँपालिका १ उच्चाकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनबहादुर चन्द
दोगडाकेदार गाउँपालिका ४ पञ्चकोटी आधारभूत विद्यालयका प्रधानाध्यापक गणेशदत्त भट्ट
यी बाहेक जिल्लाका अन्य थुप्रै विद्यालयका शिक्षकहरू पनि दलको झण्डा र ब्यानरमुनि खुल्लमखुल्ला राजनीति गरिरहेको आरोप नागरिक स्तरमा छ ।
विद्यार्थीको भविष्य बनाउने जिम्मेवारी बोकेका शिक्षकहरू नै दलीय अखडामा होमिने र उनीहरूलाई नियमन गर्ने निकायहरू आँखा चिम्लेर बस्ने प्रवृत्तिले बैतडीको शैक्षिक वातावरण कता जाँदैछ भन्ने गम्भीर प्रश्न उब्जाएको छ । अब पालिका र शिक्षा समन्वय इकाईले यी दलका कार्यकर्ता बनेका शिक्षकहरूमाथि कस्तो कानुनी डन्डा चलाउँछन् ? त्यो भने हेर्न बाँकी नै छ ।
#BaitadiNews #Sagunkhabar




