Sagun Khabar
बैतडीमा बारुद बनाउने कच्चा पदार्थसहित पक्राउ परेकी बोहरा धरौटीमा रिहा 

बैतडी –बारुद बनाउन प्रयोग गरिने कच्चा पदार्थसहित पक्राउ परेकी बैतडीको दशरथचन्द नगरपालिका २ की पुष्पा भनिने पार्वती बोहरा आइतबार धरौटीमा रिहा भएकी छिन् । यस्तै पार्वतीको बयानको आधारमा पक्राउ परेका सोही ठाउँका भरत बोहरा पनि धरौटीमा रिहा भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

प्रहरीको अनुसन्धानपछि जिल्ला अदालतमा भएको थुनछेक बहस पश्चात दुवै जनालाई धरौटीमा छाड्ने आदेश भएसंगै उनीहरु धरौटी बुझाएर रिहा भएका हुन् । पार्वतीले २५ हजार धरौटी बुझाएकी छन् भने भरतले १० हजार धरौटी बुझाएका छन् । 

यही असोज ४ गते बारुद बनाउने १२ किलो कच्चा पदार्थसहित सीमा क्षेत्र झुलाघाटबाट पुष्पालाई प्रहरीले पक्राउ गरेको थियो । उनको बयानका आधारमा भरतलाई पनि पक्राउ गरिएको थियो । 

बोहराको साथबाट बारुद बनाउन प्रयोग गरिने गन्धकजस्तो  देखिने पदार्थ २ केजी र बारुद नै बनाउन प्रयोग गरिने सुरा जस्तो देखिने पदार्थ १० केजी गरेर १२ केजी अवैध पदार्थ प्रहरीले बरामद गरेको थियो । भारतीय बजार झुलाघाटबाट उक्त विस्फोटक पदार्थ बोहराले आलुको बोराभित्र लुकाएर नेपाल भित्र्याएकी थिइन् । 
 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update