Sagun Khabar
सुदूर र कर्णाली भूकम्पको उच्च जोखिममा, एक बर्षमा ४ रेक्टर स्केलमाथिका ६४ भूकम्प 

बैतडी –सुदूरपश्चिम र कर्णाली प्रदेश भूकम्पको उच्च जोखिममा रहेको भूकम्पविद्हरुले बताएका छन् । गत बर्ष कार्तिक २२ गते डोटी केन्द्रबिन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्प गएपछि दुवै प्रदेशमा अहिलेसम्म साना ठूला गरेर २ हजार ३३६ भूकम्पको धक्का महसुस भएका छन् । 

यी दुवै प्रदेशमा झण्डै एक बर्षको अवधिमा ४ रेक्टर स्केलमाथिका ६४ भूकम्प गएका भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले बताए । पश्चिमी क्षेत्रमा गएको पाँचसय बर्ष यता ठूलो भूकम्प नगएकाले यो क्षेत्रमा ठूलो भूकम्पको सम्भावना रहेको उनले बताए । 

पछिल्लो समयमा असोज १६ गते बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ६.३ रेक्टर स्केलको भूकम्पपछि ३८० पराकम्प गइसकेका छन् । लगातार भूकम्पको धक्का महसुस भइरहेकाले स्थानीयबासी त्रसित भएका छन् । 

बझाङ भूकम्पका कारण एकजनाको मृत्यु भएको थियो भने सैयौं संरचनामा क्षति पुगेको छ । भूकम्प पीडितहरु अहिले राहतको पर्खाइमा रहेका छन् । 

पश्चिमी क्षेत्रमा जमीनमुनि शक्ति सञ्चित रहेकाले भूकम्पको जोखिम कायमै रहेको तामाङले बताए । सुदूरपश्चिम तथा कर्णालीका ग्रामीण क्षेत्रमा कमजोर संरचना भएका कारण भूकम्प गएको बेला धनजनको क्षति हुँदै आएको छ । ठूलो भूकम्प गएमा ठूलो क्षति हुने सम्भावना रहेको बताइएको छ । अधिकांश ग्रामीण क्षेत्रमा पुराना र जीर्ण संरचना भएकै कारण भूकम्प गएको बेला क्षति हुने गरेको भूकम्पविद्हरुले बताएका छन् । 

भूकम्पको पूर्वानुमान गर्न नसकिने भएकाले भूकम्प गएको बेला हुन सक्ने क्षति न्यूनीकरणका लागि भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा भूकम्पविद्हरुले जोड दिएका छन् । 
 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update