Sagun Khabar
झुलाघाट पुल मर्मत कार्य जारी, दशैंअघि मर्मतको काम नसकिने 

बैतडी –नेपाल –भारत सीमा झुलाघाटस्थित झोलुंगे पुल मर्मत कार्य जारी रहेको छ । पुल मर्मतको काम जारी रहेकाले पुलमा आंशिक रुपमा मात्रै आवतजावत भइरहेको  े जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । 

यही असोज ८ गतेदेखि पुल मर्मतको काम भइरहेको र दशैं अघि पुल मर्मतको काम नसकिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए । 

पुल मर्मतको काम भइरहेकाले बिहान ८ बजेर ४५ मिनेटदेखि दिउँसो १ बजेर १५ मिनेटसम्म र दिउँसो २ बजेर १५ मिनेटदेखि दिउँसो ४ बजेर १५ मिनेटसम्म पुलमा आवागमन बन्द रहेको सूचना अधिकारी बोहराले बताए । 

झुलाघाट पुलमा आंशिक रुपमा मात्रै आवतजावत भइरहेकाले दशैंका लागि झुलाघाट नाका भएर घर फर्कनेहरुलाई केही समस्या भएको छ । तोकिएको समयमा मात्रै आवतजावत गर्न पाइने भएकाले स्वदेश फर्कनेहरुलाई केही समस्या भएको बताइएको छ । 

भारतीय पक्षले झुलाघाट पुल मर्मतको काम गरिरहेको हो । पुलमा काठका नयाँ फल्याक राख्ने काम भइरहेको छ भने खिया लागेको फलाम पनि बदल्ने काम भइरहेको बताइएको छ । 

सीमा नाका झुलाघाटमा करीब डेढसय बर्ष अघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत गर्ने गरिएको छ । यो पुल जीर्ण भएकाले बेलाबेलामा मर्मतसम्भार गर्ने गरिएको छ । 

झोलुंगे पुल मर्मतका बिषयमा सीमा समन्वय बैठकमा सहमति भएको र सोही अनुसार पुल मर्मतको काम भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update