Sagun Khabar
सुदूरपश्चिम विश्वविद्यालयका सम्पूर्ण निकायमा आज शोक बिदा

बैतडी –सुदूरपश्चिम विश्वविद्यालयका सम्पूर्ण निकायमा आज शोक बिदा दिइएको छ । इजरायलमा हमासको आक्रमणमा परी विश्वविद्यालयमा अध्ययनरत १० जना विद्यार्थीहरुको दुखद निधन भएकाले विश्वविद्यालयका सबै निकायमा आज शोक बिदा दिइएको विश्वविद्यालयले जारी गरेको शोक वक्तव्यमा उल्लेख गरिएको छ । 

विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पस तथा अन्य निकायहरुमा शोक बिदा दिइएको जनाइएको छ । यस्तै विश्वविद्यालय अन्तर्गतका निकायहरुमा शोकसभा गरिने उल्लेख गरिएको छ । ‘लर्न एण्ड अर्न’कार्यक्रम अन्तर्गत कृषि विज्ञान संकायबाट इजरायल पुगेका ४९ जना विद्यार्थी मध्ये १० जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये सात जना सुदूरपश्चिमका रहेका छन् । 

यस्तै इजरायलमा मारिएका १० जना नेपालीको सम्झनामा आज राष्ट्रिय शोकको घोषणासहित राष्ट्रिय झण्डा आधा झुकाइँदै छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले आज मङ्गलवार राष्ट्रिय शोकको घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशमा रहेका कुटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो । त्यसैअनुसार आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।

सरकारले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका र स्वदेश आउन चाहने सबै नेपालीहरुलाई विमान पठाएर स्वदेश ल्याउने पनि निर्णय गरेको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले २ लाख रूपैयाँ राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले हिजो एक विज्ञप्ति निकालेर इजरायलमा भएको आक्रमणमा ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीको परिवारलाई राहत स्वरूप २ लाख रूपैयाँ उपलब्ध गराउने जानकारी दिएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update