Sagun Khabar
बैतडीको शिवनाथले तयार पार्यो आधारभूत तहको स्थानीय पाठ्यक्रम 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकाले आधारभूत तह कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम तयार पारेको छ । कक्षा १ देखि ३ सम्म आधारभूत तहको पाठ्यक्रम यसअघि नै तयार पारेर प्रयोगमा ल्याइसकेको गाउँपालिकाले कक्षा ४ –५ र कक्षा ६–८को स्थानीय पाठ्यक्रम तयार पारेको हो । 

‘हाम्रो शिवनाथ’नाम दिएर आधारभूत तहका लागि पाठ्यक्रम तयार पारिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । चालु शैक्षिक सत्रमै कार्यान्वयनमा ल्याउने उद्देश्यसहित पाठ्यक्रम तयार पारिएको अध्यक्ष साउँदले बताए । 

पाठ्यक्रममा स्थानीय कला, संस्कृति, भेषभूषा, सामाजिक परिवेश, धार्मिक पर्यटकीय क्षेत्र, प्राकृतिक सम्पदा आदि समेटिएका छन् । पाठ्यक्रममा शिवनाथको मात्रै नभएर सुदूरपश्चिमका विभिन्न संस्कृति, चालचालन, चाडपर्व, धार्मिक सम्पदा, प्राकृतिक सम्पदाहरु समेटिएको अध्यक्ष साउँदले बताए । 

पाठ्यक्रम निर्माणका लागि विज्ञ समूह तयार गरिएको सोही अनुसार पाठ्यक्रम निर्माण गरिएको शिवनाथ गाउँपालिकाका प्राविधिक सहायक रमेश चन्दले बताए । पाठ्यक्रममा सामाजिक क्षेत्र, भौगोलिक क्षेत्र, पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र सबै समावेश गरिएको उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०७:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update