Sagun Khabar
बैतडीको मेलौली नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम लागू 

बैतडी –बैतडीको मेलौली नगरपालिकाले चालु शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरेको छ । कक्षा १ देखि ३ सम्मको आधारभूत तहमा चालु शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिए । 

कक्षा १० सम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहमा आएसंगै कक्षा १ देखि ३ सम्मका लागि स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरिएको शिक्षा शाखा प्रमुख भट्टले जानकारी दिए । पाठ्यक्रम निर्माण समितिले तयार पारेको पाठ्यक्रमलाई नगरकार्यपालिकाले स्वीकृत गरेपछि लागू गरिएको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

सातओटा सिद्धान्तमा आधारित रहेर स्थानीय पाठ्यक्रम तयार पारिएको छ । सो पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, भेषभुषा, खानपान,रहनसहन, चालचलन र संस्कृति समेटिएको शिक्षा शाखा प्रमुख भट्टले जानकारी दिए । उनले भने ‘हामीले स्थानीय परिवेशलाई समेटेर पाठ्यक्रम तयार पारेर लागू गरेका छौं ।’

पाठ्यक्रममा समेटिएका बिषयवस्तुका बारेमा शिक्षकहरुलाई समेत जानकारी गराइएको छ । पाठ्यक्रममा भएका बिषयवस्तुलाई प्रभावकारी रुपमा शिक्षण गराउन सहज होस भनेर पाठ्यक्रमका बिषयमा जानकारी दिइएको हो । 

१६० घण्टा शिक्षण गर्ने बिषयवस्तु समेटेर पाठ्यक्रम तयार पारिएको शिक्षा शाखा प्रमुख भट्टले बताए । उनले भने ‘यो पाठ्यक्रमले स्थानीय परिवेशका बिषयमा विद्यार्थीहरु जानकारहरु हुने अपेक्षा गरेका छौं । साथै स्थानीय परिवेशले शिक्षामा स्थान पाउँदा राम्रो पनि हुन्छ ।’

मेलौली नगरपालिकामा ४६ ओटा सामुदायिक विद्यालय रहेका र ती सबै विद्यालयमा पाठ्यक्रम लागू भएको बताईएको छ । जिल्लाको शिवनाथ गाउँपालिकाले पनि यसअघि स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरिसकेको छ । 
 

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update