बैतडी –बैतडीको पाटनस्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपो कार्यालयबाट सहुलियत दरमा आयोडिनयुक्त नुन विक्रि वितरण शुरु भएको छ । चाडपर्वलाई लक्षित गरेर डिपो कार्यालयबाट प्रति केजी १८ रुपैंयाका दरले सहुलियत मूल्यमा आयोडिनयुक्त नुन विक्रि भइरहेको कार्यालयका कर्मचारी दिलिप भट्टराईले बताए । बजारमा आयोडिनयुक्त नुन प्रतिकेजी २५ रुपैंयाका दरले विक्रिवितरण भइरहेको छ ।
साल्ट ट्रेडिङको डिपो कार्यालयबाट विगतका बर्षहरुमा नुन, चिनी लगायतका दैनिक उपभोग्य वस्तुहरु सुपथ मूल्यमा विक्रि हुने गरेको भएपनि यो बर्ष नुन मात्रै सहुलियत दरमा विक्रि भइरहेको जनाइएको छ ।
गएको दुई बर्ष यता बैतडीमा सुपथ मूल्य पसल सञ्चालनमा आउन सकेको छैन् । सुपथ मूल्य पसल सञ्चालनमा नआउँदा नागरिक दैनिक उपभोग्य सामग्री महंगो किन्न बाध्य भएका छन् ।
यो बर्ष डिपो कार्यालयबाट नुनमात्रै सहुलियत दरमा विक्रि गर्नका लागि अनुमतिप्राप्त भएको साल्ट टे«ेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय पाटनका प्रमुख प्रेमसिंह कठायतले बताए । डिपो कार्यालयबाट आगामी मंसिर ३ गते सम्म आयोडिनयुक्त नुन सुपथ मूल्यमा विक्रि हुने उनले बताए ।
बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालनका लागि पाटन नगरपालिकाले साल्ट ट्रेडिङको क्षेत्रीय कार्यालय धनगढीलाई समेत पत्राचार गरेको थियो । तर बैतडीमा भने गत बर्षजस्तै यो बर्ष पनि सुपथ मूल्य पसल सञ्चालन हुन सकेको छैन् ।
सुदूरपश्चिमका डोटी र बैतडीबाहेकका जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । सुपथ मूल्य पसल सञ्चालनमा नआउँदा चाडपर्वको समयमा महंगीको मारमा परेको उपभोक्ताहरुले बताएका छन् ।




