
बैतडी – इजरायलमा भएको हमास समूहको आतङ्ककारी हमलामा सुदूरपश्चिमका सात विद्यार्थी मारिएपछि सुदूरपश्चिम यतिबेला शोकमा डुबेको छ । इजरायलमा ज्यान गुमाउने १० जना मध्ये सात जना सुदूरपश्चिमका रहेका छन् । सपना बोकेर इजरायल गएकाहरुले कहिले नफर्कने गरेर अस्ताएपछि परिवारजनमा रुवाबासी चलेको छ ।
‘लर्न एण्ड अर्न’कार्यक्रम अन्तर्गत एक महिनाअघि मात्रै इजरायल पुगेका दार्चुला, बझाङ, डोटी र कैलाली जिल्लाका सात विद्यार्थीले इजरायलमा ज्यान गुमाएका हुन् । ‘प्यालिस्टाइनी’ हमास समूहको आक्रमणमा परेर विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको ज्यान गएपछि सुदूरपश्चिम विश्वविद्यालय शोकमा डुबेको विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले बताए ।
कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी नगरपालिका–११ का गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशीष चौधरी, लेकम–४ दार्चुलाका दीपेशराज विष्ट, डोटीका राजन फुलारा, पदम थापा र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामीको आक्रमणमा निधन भएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का बिपिन जोशी सम्पर्कविहीन छन् । विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसका ४९ जना विद्यार्थी गएको महिना इजरायल गएका थिए ।
पढेर ठूलो मान्छे सपनाका साथ इजरायल पुगेका विद्यार्थी उतै अस्ताएपछि अहिले उनीहरुका परिवार शोकमा डुबेको छ ।
कैयौं सपना बोकेर विदेशी भूमी गएका दार्चुलाको मालिकार्जुन ४ का लोकेन्द्र धामी उतै अस्ताएपछि अहिले घरपरिवारको विचल्ली भएको मालिकार्जुन गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष धनसिंह धामीले बताए । उनले भने ‘अहिले धामीको परिवार शोकमा डुबेको छ । परिवार सम्हाल्नै गाह्रो भएको छ ।’
दार्चुलाको लेकम घर भएका दिपेशराज बिष्टको पनि उतै निधन भएपछि लेकम पनि शोकमा डुबेको गाउँपालिका अध्यक्ष रामदत्त जोशीले बताए ।