
बैतडी –दशैंको बेला बैतडीको प्रसिद्ध उदयदेव मन्दिरमा लाग्ने मेलालाई मध्यनजर गरेर पाटन नगरपालिकाले विभिन्न खाद्यवस्तुको दरभाउ तोकेको छ । स्थानीय भाषामा ‘मैतड जात’भनिने उदयदेव मन्दिरको जात्रामा सहभागी हुने भक्तजनहरुलाई सहज होस भनेर दरभाउ तोकिएको नगरपालिकाले जनाएको छ ।
नगर उपप्रमुख कमलसिंह बोहराको अध्यक्षतमा मंगलबार बसेको सरोकारवालाहरुको बैठकले खाना, नास्ता र बास बसाईको दरभाउ तोकेको हो । पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा महाष्टमी र महानवमीका दिन ठूलो जात्रा लाग्ने गर्दछ । सो जात्रामा विभिन्न ठाउँका दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ ।
नगरपालिकाले तोकेको दरभाउ अनुसार सादा खानाको १२० रुपैंया मात्रै लिन पाइने छ भने खसीको मासु प्रति प्लेट ३ सयमा विक्रि गर्नुपर्ने छ । यस्तै कुखुराको मासु प्रति प्लेट २५०,पुरी तरकारी २ सयमा विक्रि गर्न पाइने छ । यस्तै समोसा प्रतिपिस २० रुपैंया, चाउमिन हाफ प्लेटको ५० रुपैैया, छोला समोसा हाफ प्लेटको ५० रुपैंया, पकौडा हाफ प्लेटको ३० रुपैया तोकिएको छ ।
यस्तै भेज मम फुल प्लेटको १२० रुपैंया, चिकेन मम फुल प्लेटको १६० रुपैंया, मटन मम फुल प्लेटको २ सय रुपैया, जेरी प्रतिकेजी २५० रुपैंया, मिठाइ प्रतिकेजी २५० रुपैंया, कमन कोठा प्रतिबेड २सय, सादा कोठाको ५ सय र अटेच कोठाको एक हजार रुपैंया दरभाउ तोकिएको छ ।
जात्राको समयमा दर्शनार्थीहरुबाट जथाभावी मूल्य असुल गर्ने प्रवृति रहेकाले त्यसलाई न्यूनीकरण गर्न सरोकारवालाहरुको बैठक बसेर दरभाउ तय गरिएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए ।
यस्तै उदयदेव मन्दिर क्षेत्र वरपर ५ सय मिटरलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ भने जात्राको दिन पाटन बजार क्षेत्रमा पनि दिउँसो २ बजेदेखि राति १० बजे सम्म मात्रै मदिराको कारोबार गर्न पाइने उल्लेख गरिएको छ ।
यस्तै मिठाइजन्य पदार्थमा अखाद्य रंगको प्रयोग गर्न नपाइने भएको छ भने जात्रामा नगरपालिकाका तर्फबाट स्वास्थ्य सहायता कक्ष समेत सञ्चालन गरिने उपप्रमुख बोहराले बताए ।
नगरपालिकाले तय गरेको दरभाउ र नीति विपरीत कसैले थप पैसा असुल गरेको पाइएमा कानुन अनुसार कारवाही हुने नगरपालिकाले जनाएको छ ।