Sagun Khabar
इजरायलमा बेपत्ता भएका बैतडीका विपिन अझै सम्पर्क विहिन 

बैतडी –इजरायलमा हमासको आक्रमणपछि बेपत्ता भएका बैतडीको दोगडाकेदार गाउँपालिका–१ रिमका विपिन जोशी अझै सम्पर्क विहिन रहेका छन् । 

विभिन्न सञ्चारमाध्यमहरुमा इजरायलस्थित नेपाली दूतावासलाई उद्धृत गर्दै जोशी सम्पर्कमा आएको र उनको अस्पतालमा उपचार भईरहेको भन्ने समाचार सत्य नरहेको उनको पारिवारिक श्रोतले जनाएको छ । 

Atrya hospital

विपिनको बिषयमा परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली राजदूतावासको आफू नियमित सम्पर्कमा रहेको र विपिन अझै पनि सम्पर्कविहिन अवस्थामा रहेका उनका दाजु किशोर जोशीले बताए । उनले भने ‘हामीलाई विपिन सम्पर्कमा आएको कसैले जानकारी दिएको छैन् । सरकारका आधिकारिक निकायसंग हामी नियमित सम्पर्कमा छौं । तर भाइको बिषयमा कुनै जानकारी आएको छैन् ।’

भदौको अन्तिम साता ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल पुगेका जोशी हमासको आक्रमणपछि शनिवारदेखि सम्पर्क बिहीन छन् ।

इजरायलयमा रहेका जोशीसंगको सम्पर्क टुटेपछि उनको परिवार चिन्तामा डुबेको छ । भाइको खोजीका लागि यथाशीघ्र पहल चालिदिन आफूहरुले आग्रह गरिरहेको विपिनका दाजु किशोर जोशीले बताए । उनले भने ‘भाइ सम्पर्कविहिन भएपछि घरपरिवार सम्हाल्न गाह्रो भएको छ । उसको बिषयमा अहिले सम्म कुनै जानकारी आएको छैन् ।’

इजरायलमा शनिबार हमासको आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एण्ड अर्न’कार्यक्रमका लागि गएका ४९ जना विद्यार्थी मध्ये १० जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये सातजना सुदूरपश्चिमका रहेका छन् । 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update