
बैतडी-इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ तर बैतडीका विपीन अझै सम्र्पक आएका छैनन् । २५४ जनालाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको भएपनि बैतडीको दोगडाकेदार गाउँपालिका १ का विपीन जोशी सम्पर्कमा नआएका हुन् ।
इजरायलमा हमास समूहको आक्रमणपछि सम्पर्कविहीन बनेका बैतडीका जोशीको अत्तोपत्तो छैन । जोशी अपहरणमा परेको आशंका गरिएको छ । इजरायलबाट हवाई उद्धार गरी स्वदेश ल्याइएका नेपाली विद्यार्थीहरूका अनुसार जोशी हमास समूहको अपहरणमा परेका हुन् हमासले हानेको ग्रिनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिएका थिए ।
१७ जना नेपाली बसेको कोठामा आएको मिसाइल जोशीले नफालेको भए सबै जना नबाँच्ने इजरायलबाट नेपाल फर्केकी नेपाली विद्यार्थी बिबुशा अधिकारीले बताइन् । जोशीलाई हमास समूहले लगेको उनले बताएकी छन् । दोगडाकेदार १ रिमका विपीन भदौ अन्तिम साता इजरायल गएका थिए ।
हमासको आक्रमणपछि उनी शनिबारदेखि सम्पर्कविहीन छन् । विपीन सम्र्पकमा नआएपछि घरपरिवार र आफन्त चिन्तामा छन् । परराष्ट्रमन्त्री एनपी साउदले भने सम्पर्कविहीन रहेका जोशीको खोजी भइरहेको बताएका छन् ।