Sagun Khabar
बैतडीको घमालीमा बाढीले तीनसय रोपनी खेत बगरमा परिणत 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं २ घमालीमा शनिबार राती आएको बाढीले ३ सय रोपनी जमीन बगरमा परिणत गरेको छ । स्थानीयहरुको धान उब्जिनी हुने खेत बगरमा परिणत भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । 

आइतबार बाढी प्रभावित क्षेत्रमा प्रहरी टोली पुगेको र तीन सय रोपनी जमीन बगरमा परिणत भएको पाइएको उनले बताए । उनले भने ‘बर्षातको समयमा जिल्लामा अहिले सम्मकै बढी क्षति भएको पाइएको छ । खोला र नदीमा आएको बाढीले धानखेत बगरमा परिणत गरेको छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

धान रोपेको खेत बगरमा परिणत भएपछि स्थानीयबासीहरुलाई लाखौंको क्षति भएको छ । यस्तै बाढीले चारओटा पानीघट्ट बगाएको छ भने दुईओटा मन्दिर समेत बगाएको प्रहरीले जनाएको छ । 

शनिबार राती छिनाडाँडा बग्ने भकुण्डे खोला र ढीकगाड नदीमा आएको बाढीले बितण्डा मच्चाएको हो । नदी किनारमा रहेका सबै खेत बगरमा परिणत भएको स्थानीय जनकबहादुर कार्कीले बताए । बाढीले लाखौंको क्षति गरेको उनले बताए । उनले भने ‘हामीहरु आफ्नो खेत हेरेर रोईरहेका छौं । मानो रोपेर मुरी उब्जनी हुने खेत बाढीले बगर बनाएको छ । जताततै खेतमा ठूल्ठूला ढुंगा मात्रै छन् ।’

बगरमा परिणत भएको खेतमा अब खेत बनाउन नसकिने गरी क्षति भएको उनले बताए । 

एक्कासी ठूलो पानी पर्दा भकुण्डे खोला र ढीकगाड नदीमा आएको बाढीले नोक्सान पुर्याएको स्थानीय धनीसिंह कार्कीले बताए । भर्खरै रोपाँई सकिएको खेत बाढीले बगाएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता थपिएको उनले बताए । ‘हाम्रो धान उब्जिने हुने सबै खेत बाढीले बगर बनायो । अहिले ३० परिवारको खेत बाढीले बगाएको छ ।’उनले भने, ‘भकुण्डे खोला र ढीकगाड नदीमा हामीले यस्तो बाढी आएको कहिले देखेका थिएनौं ।’

बाढीले घमालीमा किसानहरुको खेत बगरमा परिणत भएपछि किसानहरु समस्यामा परेका स्थानीय चक्रबहादुर कार्कीले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update