Sagun Khabar
बैतडीका चार पालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरे 

बैतडी –बैतडीका चारओटा स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेका छन् । जिल्लाको पाटन नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र डिलाशैनी गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका हुन् । स्थानीय भाषा, कला,संस्कृति, भेषभुषा र स्थानीय परिवेश समेटेर पाठ्यक्रम निर्माण गरिएको हो ।

पाठ्यक्रम निर्माण गरेका स्थानीय तहहरुले चालु शैक्षिक सत्रबाटै पाठ्यक्रम लागू गर्ने बताएका छन् । कक्षा १ देखि ३ सम्मको आधारभूत तहका लागि पाठ्यक्रम निर्माण गरिएको डिलाशैनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख महादेव भट्टले बताए । विद्यार्थीहरुलाई स्थानीय परिवेशका बिषयमा जानकारी दिने उद्देश्य सहित पाठ्यक्रम निर्माण गरिएको उनले बताए । उनले भने ‘हामीले स्थानीय बिषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरेका छौैं । पाठ्यक्रमलाई चालु शैक्षिक सत्रबाटै लागू गर्छौं ।’

स्वास्थ्य सन्देश
Atrya hospital

पाठ्यक्रम निर्माण समितिले तयार पारेको पाठ्यक्रम गाउँकार्यपालिकाबाट पारित भएपछि लागू गर्ने तयारी भएको हो । हाम्रो डिलाशैनी नाम दिएर पाठ्यक्रम तयार पारिएको भट्टले बताए । 

यस्तै पाटन परिचय नाम दिएर पाटन नगरपालिकाले पाठ्यक्रम तयार पारेको नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिए । पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, धार्मिक सम्पदा लगायतका कुराहरु समेटिएका उनले बताए । 
नगरपालिकामा चालु शैक्षिक सत्रबाटै पाठ्यक्रम लागू गरिने उनले बताए । 

यस्तै मेलौली नगरपालिकाले पनि हाम्रो मेलौली नाम दिएर कक्षा १ देखि ३ सम्मको स्थानीय पाठ्यक्रम तयार पारेको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिए । उनले भने ‘हामी कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम तयार पारेर चालु शैक्षिक सत्रबाट लागू गरेका छौं ।’

विद्यार्थीहरुमा स्थानीय परिवेशको सिकाई उपलब्धि हाँसिल गर्नका लागि स्थानीय पाठ्यक्रम निर्माण गरिएको भट्टले बताए । यसले विद्यार्थीहरुमा स्थानीय परिवेशको बिषयमा ज्ञान हुने उनले बताए । 

स्थानीय सरकारहरुले आफ्नै पाठ्यक्रम निर्माण गरेर लागू गर्नु राम्रो कार्य भएको शिवनाथ गाउँपालिकाको स्थानीय पाठ्यक्रम निर्माण समितिका महामलसिंह साउँदले बताए । स्थानीय परिवेशका बारेमा जानकारी दिनका लागि पाठ्यक्रम निर्माण गर्नु राम्रो कार्य भएको उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update