Sagun Khabar
बैतडीमा यातायात व्यवसायी दोब्बर भाडा असुल्दै 

बैतडी –बैतडीमा यातायात व्यवसायीले मनोमानी भाडा लिईरहेको भएपनि नियमन गर्ने निकायले कुनै चासो दिएको छैन् । ग्रामीण कच्ची सडकमा मात्रै नभएर पक्की सडकमा पनि व्यवसायी दोब्बर भाडा असुल गरिरहेका छन् । आधा सीट क्षमतामा मात्रै यात्रु बोक्न दिने निर्णय भएकाले दोब्बर भाडा लिने गरेको व्यवसायीले बताएका छन् ।

सतबाँझबाट बैतडी सदरमुकाम सम्मको ८० रुपैंया भाडा भएपनि यातायात व्यवसायीले एकजनाबाट दुई सयका दरले भाडा असुल गरिरहेका छन् । नियमन गर्ने निकायले कुनै चासो नदिँदा यात्रुहरु दोब्बर भन्दा बढी भाडा तिर्न बाध्य भएका हुन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

जिप व्यवसायीहरुले टिकेट नदिइकनै दोब्बर भाडा असुल गर्ने गरेको बैतडीको सुर्नया गाउँपालिका ६ का पदमराज अवस्थीले बताए । उनले भने ‘कच्ची सडकमा मात्रै बढी भाडा भनेको त पक्की सडकमा पनि दोब्बर भाडा रहेछ । दोब्बर भाडा दिने सहमतिपछि मात्रै जिपमा चढ्न पाइन्छ ।’

सतबाँझदेखि सुर्नया सम्म पहिला ३ सय भाडा रहेकोमा अहिले जिप व्यवसायीहरुले आफ्नै तरीकाले भाडा बढाएर एकजनाबाट ५ सय भाडा असुल गरिरहेका छन् । यातायात व्यवसायीहरुले आफूखुसी बढी भाडा असुल गर्दा यात्रुहरुलाई भने समस्या हुने गरेको छ । 

यता जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बढी भाडा लिएको पाइएमा कानुन अनुसार कारवाही हुने बताउनुभयो । साउन पहिलो साता यातायात व्यवसायीका संगठनहरुसंग बसेर भाडाका बिषयमा छलफल समेत गरिने उहाँले बताउनुभयो । 
 

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update