Sagun Khabar
राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा ३ पदका लागि ६ जनाको उम्मेदवारी

कैलाली –राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । आज निर्वाचन अधिकृतको कार्यालयमा सत्ता गठबन्धनका तर्फबाट तीन र नेकपा एमालेका तर्फबाट तीन जना गरी छ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । 

सत्ता गठबन्धन दलतर्फ नेपाली काँग्रेसका उम्मेदवार बलदेव बोहरा र नारायणदत्त भट्टले उम्मेदवारी दर्ता गराएका छन् । कञ्चनपुरका पूर्व जिल्ला सभापति बोहराले अन्यमा र अल्पसङ्ख्यक तथा अपाङ्गमा कैलाली जिल्ला सभापति भट्टले मनोनयन दर्ता गराएका हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

महिलातर्फमा नेकपा माओवादी केन्द्रकी रेणु चन्दले उम्मेदवारी दर्ता गराएकी हुन् । उनी माओवादी केन्द्रकी केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की सुदूरपश्चिम इञ्चार्ज समेत रहेकी छन् । 

सुदूरपश्चिममा राष्ट्रिय सभा सदस्यका तीन सीटमा हुने निर्वाचनमा दुई सीटमा नेपाली कांग्रेस र एक सीटमा माओवादी केन्द्रले उम्मेदवारी दिने निर्णय अनुसार सत्तागठबन्धन दलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । 

यसैगरी नेकपा एमालेका तर्फबाट महिलामा कैलालीकी सावित्रादेवी घिमिरे, अन्यबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र अपाङ्गता तथा अल्पसंख्यकबाट कैलालीका रामचन्द्र जोशीले उम्मेदवारी दर्ता गराएका छन् । 
 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update