बैतडी, सुक्खा फलफूल विकास केन्द्र सतबाँझ बैतडीले व्यावसायिक फलफूल खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्ष उच्च गुणस्तरका रुटस्टक (मूल काण्ड) बिरुवा उत्पादनलाई व्यापक बनाएको छ ।
केन्द्रले आफ्नो बगैँचाको करिब १५ रोपनी क्षेत्रफलमा १ लाख गोटा स्थानीय तथा सहनशील प्रजातिका बीउहरू रोप्ने कार्य तीव्र रूपमा अघि बढाएको छ ।
केन्द्रका अनुसार १५ रोपनी जग्गामा हाँडे ओखर, काठे आरु, कटुस र पैँयुका १ लाख बीउहरू रोपिँदै छ । स्थानीय हावापानी अनुकूल र रोगप्रतिरोधी यी काठे स्थानीय प्रजातिका बिरुवाहरू हुर्किएपछि तिनमा उन्नत जातका हाँगाहरू ’कलमी’ गरिनेछ ।
हाँडे ओखरमा उन्नत जातको दाँते ओखर,काठे आरुमा उन्नत प्रजातिको स्वादिष्ट आरु, पैँयुमा स्विट चेरी र कटुसमाः उन्नत जातका कटुस कलमी गरेर उत्पादन गरिनेछ । यस प्रविधिले बिरुवालाई मजबुत बनाउनुका साथै छिटो र गुणस्तरीय फल दिन मद्दत पु¥याउँछ ।
कुल २९ हेक्टर क्षेत्रफलमा फैलिएको यस फार्ममा विभिन्न प्रजातिका फलफूलका बिरुवाहरू व्यवस्थित रूपमा हुर्काएर बिक्री–वितरण गरिँदै आएको छ ।
निमित्त कार्यालय प्रमुख अर्जुन खड्काका अनुसार हाल फार्मको आफ्नै बगैँचामा करिब १२ हजार फलफूलका बोटबिरुवाहरू रहेका छन् । साथै, आगामी मौसममा कृषकहरूलाई वितरण गर्नका लागि ६२ हजार थान उन्नत बेर्ना (बिरुवा) बिक्रीका लागि तयार अवस्थामा राखिएका छन् ।
बैतडीको सतबाँझमा उत्पादित उच्च गुणस्तरका फलफूलका बिरुवाको माग देशका विभिन्न भागमा बढ्दो छ । तराईका कैलाली र कञ्चनपुरबाहेक सुदूरपश्चिमका सम्पूर्ण पहाडी जिल्लाहरू, कर्णाली प्रदेशका विभिन्न भागका साथै बागमती प्रदेशका काठमाडौँ र काभ्रेपलाञ्चोक जस्ता टाढा टाढाका जिल्लाहरूसम्म यहाँका बिरुवाहरू निर्यात हुने गरेका छन् ।
सुक्खा र भिरालो जमिनमा पनि आधुनिक कृषि प्रविधिको प्रयोग गरी उच्च मूल्य जाने हिउँदे फलफूलको बेर्ना उत्पादन गरेर यस केन्द्रले सुदूरपश्चिमको कृषि पर्यटन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुर्यईरहेको छ ।




