Sagun Khabar
बैतडीका १० ओटै स्थानीय तहका केन्द्रमा सडक 

बैतडी–बैतडीका १० ओटै स्थानीय तहका केन्द्रमा सडक पुगेको छ । सिगास गाउँपालिकाको केन्द्र गर्जेमा सोमबार सडक पुगेसंगै जिल्लाका १० ओटै स्थानीय तहका केन्द्रलाई सडकले छोएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि धेरै जसो पालिकाका केन्द्रमा सडकले छोएको हो । 

पालिकाका केन्द्रहरुमा सडक पुगेपछि सजिलो भएको स्थानीयहरुले बताएका छन् । दुर्गम क्षेत्रमा सडकको पहुँच भएपछि स्थानीयहरुलाई फाइदा भएको सिगासका पदम साउँदले जानकारी दिए । उनले भने ‘गाउँपालिकाको केन्द्रमा सडक पुगेपछि हामी निकै खुसी भएका छौं । दुर्गम गाउँमा सडक पुगेको छ । अब अरु विकास निर्माणका काम पनि अघि बढ्नेछन् ।’

स्वास्थ्य सन्देश
Atrya hospital

सडक पुगेसंगै गाउँघरमा सुविधा भित्रिएको सुर्नया ६ का दिवाकर अवस्थीले बताए । सडक नहुँदा टाढाबाट भारी बोकेर ल्याउनुपर्ने खाद्यान्न अहिले नजिकैका पसलहरुमा किन्न पाइएको उनले बताए । उनले भने ‘हामीले दैनिक उपभोग्य सामग्रीका लागि टाढा जानुपर्ने बाध्यता रहेको थियो । गाउँमै सडक पुगेपछि हामी खुसी भएका छौं ।’

सडकले गाउँघरमा उत्पादन भएको तरकारी सहजै बजार सम्म पुर्याउन सजिलो भएको सुर्नया ६ का लवदेव अवस्थीले बताए । 
स्थानीय सरकार आएसंगै गाउँपालिकाको केन्द्रमा सडक पुग्दा धेरै सजिलो भएको शिवनाथका स्थानीय राजबहादुर चन्दले बताए । गाउँपालिकामा सडकको पहुँच पुगेसंगै स्थानीयहरुलाई सहज भएको उनको भनाई छ । 

सडकको पहुँच भएसंगै तीनचार दिन लगाएर पुग्नुपर्ने ठाउँमा एकै दिन पुग्न सकिएको पुर्चौंडीका उत्तम बोहराले बताए । जिल्लाका सबै स्थानीय तहका केन्द्रमा सडक पुगेपछि स्थानीय सरकारलाई समेत काम गर्न सहज भएको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update