Sagun Khabar
सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री शाही पदमुक्त 

कैलाली –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (एकीकृत समाजवादी) का मन्त्रीलाई पनि पदमुक्त गरेका छन् । 

संघमा बनेको नयाँ सत्ता गठबन्धनमा एकीकृत समाजवादी समावेश भएपछि मुख्यमन्त्रीले आज आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीलाई पदमुक्त गरेका हुन् । यसअघि, उनले  नेकपा (माओवादी केन्द्र) का तीन जना मन्त्रीलाई पदमुक्त गरेका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

संघमा बनेको नयाँ गठबन्धनका कारण सुदूरपश्चिम प्रदेश सरकार फेरबदलको विषय पनि अब पेचिलो बनेको छ । मुख्यमन्त्रीले दुई दलका मन्त्रीलाई पदमुक्त गरेपछि उनी अल्पमतमा पर्ने देखिएको छ । 

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन हिजो नै फिर्ता लिइसकेको छ । एकीकृत समाजवादीलेसमेत सरकारको साथ छोडेमा मुख्यमन्त्री अल्पमतमा पर्नु हुनेछ । सुदूरपश्चिममा काँग्रेस, माओवादी, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) को संयुक्त सरकार थियो । एकीकृत समाजवादीले पनि प्रदेश सरकारलाई दिएको समर्थन आज फिर्ता लिने बताइएको छ । 

अब सरकारसँग नेपाली काँग्रेसका १७ र नागरिक उन्मुक्ति पार्टीका सात गरी २४ जना प्रदेश सभा सदस्य सरकारसँग रहेका छन् । १८ सिट जितेको नेपाली काँग्रेसका एक जना प्रदेश सभा सदस्यको निधन भएपछि काङ्ग्रेससँग १७ जना प्रदेश सभा सदस्य छन् । सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार चलाउनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update