Sagun Khabar
एकै वडाका सात जना सहित बैतडीमा थप १० जनामा कोरोना पुष्टि 

बैतडी–बैतडीमा एकै वडाका सात जना सहित थप १० जनामा कोरोना पुष्टि भएको छ । पीसीआर विधिबाट परीक्षण गर्दा ८ जनामा र एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा २ दुईजनामा गरी बुधबार १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

झुलाघाट नाकामा एन्टीजेन परीक्षण गर्दा दशरथचन्द नगरपालिका १ गुरुखोलाका ४९ बर्षीय पुरुष र पञ्चेश्वर गाउँपालिका ६ बिजुलका ४६ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै पिसीआर प्रयोगशालामा परीक्षण गर्दा ग्लोबल आइएमइ बैंक गोठलापानीमा कार्यरत २८ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै मेलौली नगरपालिका वडा नं ७ का ७ जनामा कोरोना पुष्टि भएको छ । वडा नं ७ तोल्याका ३२,४०,४५ र ६० बर्षीय पुरुष तथा ११, ६० र ६० बर्षीय महिला गरी ७ जनामा कोरोना पुष्टि भएको छ ।

केही दिन अघि तोल्याका एकजनामा कोरोना पुष्टि भएपछि सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएका ७ जनामा कोरोना पुष्टि भएको हो । 

यो संगै बैतडीमा सक्रिय संक्रमितको संख्या ३७ पुगेको छ । सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २२ जना रहेका छन् । 

यस्तै मेलौली नगरपालिकामा ८, दोगडाकेदार गाउँपालिकामा ४ र पञ्चेश्वर गाउँपालिकामा ३ जना सक्रिय संक्रमित रहेका छन् । 
पछिल्लो समयमा ट्राभल हिस्ट्री नभएका व्यक्तिहरुमा समेत कोरोना देखिएकाले कोरोनाको संक्रमण बढ्दै गएको स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् । कोरोनाको महामारीबाट बच्नका लागि स्वास्थ्यका मापदण्ड परिपालना गर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका हुन् । 

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update