Sagun Khabar
तरकारी खेतीले फेरियो सरीताको जीवन 

बैतडी –जिल्लाको पाटन नगरपालिका ९ की सरीता भाट अहिले तरकारी खेतीबाट मनग्गे आम्दानी गरिरहेकी छन् । गएको ५÷६ बर्ष यता तरकारी खेतीमा लागेकी भाट अहिले तरकारी खेतीबाटै बार्षिक २ लाख भन्दा बढी कमाइ गरिरहेकी छन् । 

परम्परागत रुपमा तरकारी खेती गर्दै आएकी भाटलाई रुडेसले ग्रीन परियोजनामार्फत प्रविधि र बीउमा सहयोग गरेपछि उनको व्यवसायमा झन् फाइदा पुगेको छ । ३ रोपनी जमीनमा आलुखेती गरिरहेकी भाट अहिले आधुनिक प्रविधिबाट खेती गरिरहेकी छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

रुडेसको प्राविधिक सहयोगमा प्लास्टिक मल्चिङ विधिबाट आलु खेती गरिरहेको भाटले बताइन् । प्लास्टिक मल्चिङ विधिबाट आलुखेती गर्दा फाइदा हुने गरेको भाटले बताइन् । उनले भनिन् ‘प्लास्टिक मल्चिङ विधिबाट आलुखेती गर्दा गोडमेलको समस्या हुँदैन् । जमीनमा चिस्यान रहीरहन्छ । यसले उत्पादनमा वृद्धि हुने गर्दछ ।’

फागुनमा रोपेको आलु जेठमा भित्र्याउने गरेको र त्यसपछि बन्दा काउली लगायतका तरकारीहरु बारीमा रोप्ने गरेको भाटले बताइन् । पाँच जनाको परिवार पाल्न र अन्य आम्दानीका लागि तरकारी खेती सहायक सिद्ध भएको उनले बताइन् । 

सरीता भाटले गरेको आलुखेती वडामै नमूना रहेको पाटन नगरपालिका वडा नं ९का वडा अध्यक्ष कालुसिंह भाटले बताए । रुडेस बैतडीले ग्रीन परियोजनामार्फत किसानहरुलाई सहयोग मिलेको उनको भनाइ छ । उनले भने ‘ग्रीन परियोजनामार्फत किसानहरुलाई फाइदा भएको छ । संस्थाले प्रविधि हस्तान्तरण,बीउविजन लगायतमा गरेको सहयोग महत्वपूर्ण छ ।’

व्यवसायिक तरकारी खेतीमा लागेकी भाटलाई महिला सशक्तीकरण केन्द्रमा आवद्ध गराएको र त्यसपछि परियोजनामार्फत सहयोग गरेको सहजकर्ता पार्वती भाटले बताइन् । उनले भनिन् ‘हामीले महिला सशक्तीकरण केन्द्रमा महिलाहरुको जिविकोपार्जनका बिषयमा पनि छलफल गर्ने गरेका छौं । सरीता भाटजीलाई पनि हामीले केन्द्रमा सहभागी गरायौं । त्यसपछि उहाँले आधुनिक प्रविधिबाट तरकारी खेती गरिरहनु भएको छ ।’

परम्परागत खेतीभन्दा तरकारीखेतीबाट निकै फाइदा हुन थालेपछि आफू तरकारी खेतीमा लागेको सरीता भाटको भनाइ छ । रुडेस संस्थाले प्राविधिक ज्ञान र सीप प्रदान गर्नुका साथै बीउबिजनमा समेत सहयोग गरेकाले आफूहरु उत्साहित भएको उनले बताइन् । उनले भनिन् ‘महिला सशक्तीकरण केन्द्रमा आवद्ध भएपछि विभिन्न बिषयमा छलफल भयो । हामीले गरिरहेको तरकारी खेतीलाई कसरी व्यवसायिक बनाउने भन्ने बिषयमा पनि छलफल भयो । त्यसपछि रुडेसले आवश्यकता आधारमा सहयोग गरेपछि सजिलो भएको छ ।’

व्यवसायिक तरकारी खेतीमा आवद्ध भएकी भाटले तरकारी खेतीबाटै परनिर्भरता हटेको बताइन् । समान्य खर्चका लागि समेत श्रीमानको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएको उनले सुनाइन् । 
 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update