
बैतडी–बैतडीको सिगास गाउँपालिका–२ पेडेगोदाकी ३४ बर्षीया बेलमती धामीको हत्यामा संलग्न सोही ठाउँका ३० बर्षीय यज्ञसिंह धामीमाथि प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
जिल्ला अदालत बैतडीबाट ६ दिनको म्याद थपेर कर्तव्य ज्यान मुद्दामा अभियुक्त धामीमाथि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
३० बर्षीय यज्ञसिंह धामीले आइतबार राति साढे ११ बजेको समयमा आफ्नै काकी बेलमती धामीको बञ्चरो प्रहार गरेर हत्या गरेका थिए । प्रहरीले अभियुक्त धामीलाई आइतबार राति नै नियन्त्रणमा लिएको थियो ।
धामीले आफ्नै काकीको हत्या गर्नुको कारण भने खुलीसकेको छैन् । अभियुक्तमाथि अनुसन्धान भइरहेकाले बिस्तारै कारण खुल्ने प्रहरी निरीक्षक पाण्डेयले बताए ।
एकल महिला समेत रहेकी बेलमतीको हत्या भएपछि उनका ५ जना छोराछोरीको विचल्ली भएको छ । बेलमतीका श्रीमानको पहिला नै मृत्यु भएको थियो । बेलमतीका ४ छोरी र एक छोरा रहेका छन् ।
बालबालिकाहरुको साहराको रुपमा रहेकी आमाको हत्या भएपछि उनीहरुको विचल्ली भएको छ ।