Sagun Khabar
स्थानीय समुन्नतिमा स्व-स्थानीय वनस्पति 

गंगा दत्त भट्ट वरिष्ठ वैज्ञानिक अधिकृत वनस्पति अनुसन्धान केन्द्र कैलाली

प्राकृतिक स्रोत परिचालनबाट मात्रै आर्थोपयोगी जडीबुटी एवं गैरकाष्ठ वन पैदावरहरूको दिगो संरक्षण र व्यवस्थापन तथा व्यवसायीकरण पर्याप्त नहुनसक्ने भएका कारण कबुलियती वन, सामुदायिक वन, साझेदारी वन तथा अन्य निजी एवं समूह सहकारीलाई आबद्ध गराई जडीबुटी एवं गैरकाष्ठ वन पैदावरको खेतीका लागि प्रोत्साहित गर्ने उद्देश्य अनुरुप जडीबुटीहरूको खेती सम्भाव्यता पकेट क्षेत्रको घोषणा र व्यवसायिक खेती विस्तार कार्यविधि निर्देशिका -२०७७ वन तथा वातावरण मन्त्रालयबाट लागू भएको हो।

जडीबुटीजन्य पदार्थको उत्पादनबाट देशभित्र नै रोजगारी सिर्जना गरी आयआर्जनमा वृद्धि गर्ने उद्देश्यका साथ सातवटै प्रदेशमा पकेट क्षेत्रको निर्धारण तथा जडीबुटी क्षेत्रका तहहरू निर्धारण गरी कार्यान्वयनमा ल्याएको छ।जडीबुटी क्षेत्रका तहहरुलाई पकेट, ब्लक, जोन र सुपर जोन गरी चारवटा तहहरू कायम गरिएको छ। जडीबुटीजन्य पदार्थको उत्पादन व्यवसायिकरण र बजारीकरण गर्न नेपाल सरकारले वन तथा वातावरण मन्त्रालय अन्तर्गतका निकायहरूबाट प्राविधिक तथा आर्थिक सहयोग प्रदान गर्दै आफ्ना क्रियाकलापहरु अगाडि बढाएको छ।

Atrya hospital

यस वर्षको वनस्पति दिवस चैत्र २९ गते मनाउने क्रममा स्थानीय समुन्नतिमा स्व-स्थानीय वनस्पति नामक नारा दिइएको छ। यसै सन्दर्भमा सुदूरपश्चिम प्रदेशमा पाइने र उद्योगको रूपमा स्थापना गर्न सकिने दश प्रमुख आर्थोपयोगी तथा जडीबुटीजन्य वनस्पतिहरूको बारेमा संक्षिप्त रुपमा चर्चा गर्ने जमर्को गरिएको छ ।

रिट्ठा

रिट्ठा प्रायः 1,000 मिटर देखि 1,500 मिटरसम्मको उचाई भएको भू-भागको खुल्ला पारिलो र घाम प्रशस्त लाग्ने पाखाहरुमा हुर्कन मन पराउँछ । यसको बीउबाट बेर्ना उत्पादन गरी खेती गर्न सकिन्छ । रिट्ठाको उपयोगी भाग फल हो र विभिन्न किसिमका साबुन, स्याम्फु तयार गर्ने क्रममा यसको प्रयोग गरिन्छ । स्थानीय स्तरमै साबुन र स्याम्पु उद्योग स्थापना गरी रोजगारी तथा आर्थिक समुन्नतिको मार्गमा अगाडि बढ्न सकिन्छ। अछामको मेल्लेख, बैतडीको पञ्चेश्वर, बझाङको केदारसिउ, बाजुराको बुढीगङ्गा, डडेल्धुराको भागेश्वर, दार्चुलाको लेकम गाउँपालिका र डोटीको शिखर नगरपालिका रिठा खेतीको लागि प्रमुख सम्भाव्यता भएका क्षेत्र हुन्।

चिउरी

चिउरी एक महत्वपूर्ण रुख प्रजातिको वनस्पति हो । चिउरी घाम प्रशस्त मात्रामा लाग्ने ओसिलो चट्टानयुक्त, खुल्ला, भिरालो पाखाबारीमा राम्रो सँग हुर्किराखेको पाइन्छ। चिउरी नेपालको पूर्व देखि पश्चिम सम्मको चुरे तथा महाभारत शृङ्खलाको ३०० मिटर देखि १८०० मिटर सम्मको उचाईमा प्राकृतिक अवस्थामा हुर्किराखेको पाइन्छ ।सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरूमा चिउरी पाइन्छ ।चिउरी अत्यन्त गुणकारी र लाभदायक वनस्पति प्रजाति हो। यसको सम्पूर्ण भाग प्रयोगमा ल्याइन्छ र यसले वातावरणीय सेवा प्रदान गरिराखेको हुन्छ ।यसको पात डालेघाँस र अन्य भाग काठ तथा दाउराको रूपमा प्रयोग गर्न सकिन्छ ।

चिउरी मौरी पालन व्यवसायको लागि महत्वपूर्ण वनस्पति प्रजाति हो। यसको फूलको रस बाट मह उत्पादन गरी मनग्य आम्दानी लिन सकिन्छ।फल खान हुन्छ। फललाई प्रशोधन गरी बजारीकरण गर्न सकिने। चिउरीको बियाँ प्रशोधन गरी चिउरीको  घ्यु उत्पादन गरिन्छ। आयुर्वेदिक साबुन उत्पादनका लागि कच्चा पदार्थको रूपमा प्रयोग गरिन्छ । घ्यु उत्पादन हुने क्रममा निस्केको पिना अन्नबालीको लागि कम्पोस्ट मल र कीटनाशक औषधीको रूपमा प्रयोग गरिन्छ।कञ्चनपुर जिल्लाको ब्रह्मदेवदेखि कैलालीको चिसापानीसम्मको चुरे क्षेत्रमा चिउरीका लाखौं लाख बिरुवा वृक्षारोपण गरी जैविक विविधता संरक्षण, चुरे क्षेत्रको संरक्षण, वन्यजन्तुहरूको लागि आहार तथा चिउरीको लागि उत्कृष्ट पकेट क्षेत्र बनाउन सकिन्छ।

कुरिलो/सतावरी

कुरिलो लहरादार वनस्पति प्रजाति नेपालको तराईदेखि पहाडी भू-भागको 2100 मिटरसम्म पाईन्छ ।वनस्पति विभागले कुरिलोको खेती प्रविधि विकास गरी असल खेती तथा संकलन अभ्यास सम्बन्धी जानकारीमूलक पुस्तिका प्रकाशित गरिसकेको छ । वीउ र जरा दुबैबाट विरुवा उत्पादन गरिन्छ । विरुवा रोपेको 2 वर्ष पछि जरा संकलन गर्न सकिन्छ । कुरिलोको टुसालाई तरकारीको रुपमा उपयोग गर्न सकिन्छ। आयुर्वेदिक चिकित्सा पद्धतिमा विभिन्न किसिमका औषधी निर्माणमा यसको जराको प्रयोग हुन्छ ।कच्चा पदार्थ स्थानीयस्तरमै प्रशोधन गरी  विभिन्न किसिमका उत्पादनहरू निर्माण गरी उद्योगको रुपमा स्थापना गर्न सकिन्छ। अछामको तुर्माखाद, बझाङको बित्थड, डडेलधुराको अजयमेरु, डोटीको जोरायल, कैलालीको चुरे गाउँपालिका र बैतडीको पाटन, बाजुराको बडीमालिका, दार्चुलाको शैल्यशिखर र कञ्चनपुरको महाकाली नगरपालिका कुरिलो खेतीको लागि प्रमुख सम्भाव्यता भएका क्षेत्र हुन्।

सतुवा

सतुवा वहुवर्षीय झारपात वर्गमा पर्ने महत्वपूर्ण जडीबुटी हो।प्राकृतिक अवस्थामा 2000 मिटरदेखि 3000 मिटरसम्मको उचाईमा नेपालको पश्चिमदेखि पूर्वसम्मको भू-भागमा गुराँस र खस्रु भएको सेपिलो जंगलमा हुर्किराखेको पाइन्छ। यसको खेती प्रविधि विकास भइसकेको छ। वीउ र गानाबाट विरुवा उत्पादन गर्न सकिन्छ।यसको उपयोगी भाग जरा हो र जरामा बीषनाशक गुण रहेको हुन्छ।घरेलु उपचार पद्धति, आयुर्वेदिक र युनानी पद्धतिमा सतुवाको प्रयोग गरिन्छ।स्थानीयस्तरमै कच्चा पदार्थको प्रशोधन गरी मूल्य अभिवृद्धि गराई बजारीकरण गर्न सकिन्छ। अछामको रामारोशन, डोटीको खप्तड, बैतडीको ग्वालेक-केदार, दार्चुलाको अपिनाम्पा, डडेलधुराको घण्टेश्वर, बाजुराको बडिमालिका र बझाङको सुर्मासरोवर क्षेत्र  सतुवा पाइने तथा खेती गर्न सकिने प्रमुख सम्भाव्य क्षेत्र हुन्।

सर्पगन्धा

सर्पगन्धा सदावहार वहुवर्षीय वनस्पति प्रजाति नेपालको तराई क्षेत्रमा विशेष गरेर सालको जंगलमा पाईन्छ। वीउ, हाङ्गा र जराको कटिङबाट यसको विरुवा उत्पादन गर्न सकिन्छ।यसलाई रोपेको 18 महिना पछि बाली संकलन गर्न सकिन्छ।जरा यसको उपयोगी भाग हो।यसको जरा उच्च रक्तचापका लागि अति नै उपयोगी मानिन्छ र थुप्रै किसिमका आयुर्वेदिक र एलोपेथिक औषधी बनाउन प्रयोग गरिन्छ। कैलाली र कञ्चनपुर जिल्लामा सर्पगन्धाको खेती गर्न सकिन्छ।

लौठसल्ला

ट्याक्सुस कन्टोर्टा नामक लौठसल्ला नेपालको पश्चिमी भू-भाग दार्चुलादेखि मध्य नेपालको गोरखासम्म 2000 मिटरदेखि ३५०० मिटरको उचाईमा पाइन्छ।वीउ र कटिङ्गबाट विरुवा उत्पादन गर्न सकिन्छ ।यसको पातको संकलन गर्दा माउ रुखलाई असर नपर्ने गरी प्रत्येक 4 वर्षको चक्रमा रुखलाई 4 भागमा विभाजन गरी प्रति वर्ष 25 प्रतिशतका दरले संकलन गर्नु उपयुक्त हुनजान्छ।यसको उपयोग काष्ठ एवम् गैरकाष्ठ प्रयोजनमा गरिन्छ।लौठसल्लाका पात प्रशोधन गरी ट्याक्सोल उत्पादन गरिन्छ ।ट्याक्सोल पाठेघर, स्तन, फोक्सो, टाउको, प्रोस्टेट, छाला र अन्ननली लगायतको क्यान्सरको उपचारमा प्रयोग गरिन्छ।यसबाट प्राप्त हुने बहुउपयोगी औद्योगिक रसायनबाट स्थानीयस्तरमै फार्मास्युटिकल्स उद्योगहरूको स्थापना गर्न सकेमा स्थानीय स्तरमा रोजगारीमा अभिवृद्धि, विदेशी मुद्रा आर्जन, राजस्व वृद्धि हुन गई राज्यलाई आर्थिक रुपमा समृद्ध बनाउन सहयोग पुग्न जानेछ। दार्चुलाको अपिनाम्पा, कोटेली गाउँ, कसौन्टी, रातामाटी र टिपुलछ्याक्ट्री; बैतडीको श्रीभाबर, ढोल्यामोड र रौँला-केदार क्षेत्र; डडेलधुराको साहुखर्क माथिको महाभारत क्षेत्र; बझाङको सुरमासरोवर, घोडा दाउने-लोखडा, बुडखोरी-पसेला क्षेत्र; डोटीको खप्तड, सालिङ्गाडो-चोया काट्ने क्षेत्र; बाजुराको काँडे, बडीमालिका, झुरकोट, अन्तिचौर र अछामको रामारोशन क्षेत्रको जङ्गलमा प्राकृतिक अवस्थामा लौठसल्ला पाइन्छ र सो भागसँग जोडिएका क्षेत्रमा खेती गर्न सकिन्छ।

टिमुर

टिमुर धेरै हाँगा बिङ्गामा फैलिएको झाडीदार वनस्पति प्रजाति हो। नेपालमा 1000 मिटरदेखि 2500 मिटरसम्मको उचाईमा प्राकृतिक वनजंगलमा पाइन्छ।यसको खेती प्रविधि विकास भईसकेको छ ।टिमुरको विरुवा उत्पादन वीउबाट गरिन्छ।प्रशस्त घाम लाग्ने हिउँदमा चिसो र गर्मीमा न्यानो हावापानी भएका क्षेत्रमा यसको खेती राम्रोसँग फस्टाउँछ।विउबाट उत्पादित विरुवाले ५ वर्षमा फल दिन सुरु गर्छ।टिमुरको वयस्क रुखबाट १ वर्षमा १० किलोग्राम सम्म सुकेको फल उत्पादन गर्न सकिन्छ।घरायसी रुपमा टिमुरको फल मसलाको रुपमा प्रयोग गरिन्छ।यसको फल र तेल विभिन्न किसिमका आयुर्वेदिक औषधीको सम्मिश्रणमा प्रयोग गरिन्छ।स्थानीयस्तरमै टिमुरको तेल उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पठाउन सकेमा विदेशी मुद्रा आर्जन गर्नमा सहयोग पुग्न गई देश समृद्धिको पथमा अगाडि बढ्न सक्ने निश्चित छ।

पाषाणभेद

यो वहुवर्षीय झारपात वर्गको जडीबुटी महाभारत श्रृंखलाको 900 मिटर देखि 4400 मिटरसम्मको उचाई भएको ठाउँमा चट्टानयुक्त सेपिला पाखाहरुमा पाईन्छ।यसको आकर्षक फूलका कारण स्वदेशी शोभनीय विरुवाको रुपमा समेत यसको प्रवर्द्धन गरि आयआर्जन गर्न सकिन्छ।यसको काण्ड आश्विन-कार्तिक महिनामा विउ झरीसकेपछि संकलन गर्नु उपयुक्त हुनजान्छ।संकलन गर्दा काण्डको टुप्पातिरको केही भाग यथास्थानमा छोडी पछाडीको परिपक्व काण्ड मात्र संकलन गर्नु पर्दछ।जसले गर्दा अर्को वर्ष फेरी संकलन गर्न सकिन्छ।यसका डाठहरु मोटो हुने भएकोले राम्रोसँग सुकाएर जुटको बोरामा प्याकिङ गरी बजार व्यवस्थापन गर्नुपर्दछ। पाषाणभेदको वीउ र काण्डको कटिङ्गबाट विरुवा उत्पादन गर्न सकिन्छ।आयुर्वेद चिकित्सा पद्धतिमा यसको काण्ड ज्वरो, तागत, पखला, कफ, हृदयरोग, पेट दुखेको, आउँ आदिको औषधी निर्माण र पत्थरी रोगको उपचारमा प्रयोग गरिन्छ।

अमला

अमला मझौला खालको पतझर रुख हो।अमला तराई देखि मध्य पहाडको 1500 मिटरसम्मको भू-भागमा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरूमा पाइन्छ पाइन्छ।यसको वीउ र हाँगाको कलमीबाट विरुवा उत्पादन गर्न सकिन्छ।यसको फल व्यापारिक र औषधीय प्रयोजनमा प्रयोग गरिन्छ।यसको फलमा भिटामिन 'सी' को मात्रा प्रशस्त रहेको हुन्।अमला आयुर्वेदिक औषधी त्रिफलाको एउटा प्रमुख घटक हो।त्रिफलाले पेट सफा गर्ने, कलेजो सुन्निएको, बबासिर र पेट सम्बन्धी रोगहरुमा फाइदा गर्दछ।हर्रो, बर्रो, कुरिलो र अमाला को सम्मिश्रणबाट च्यवनप्रास उत्पादन गर्न सकिन्छ जसले गर्दा स्वदेशमै च्यवनप्रास को आपूर्ति हुन गई विदेश पलायन हुने रकमलाई स्वदेशमै सञ्चित गर्न सकिन्छ।

तेजपात

तेजपात सदावहार रुख प्रजातिको वनस्पति हो।नेपालमा यसको फैलावट समुद्री सतहबाट ४00 मिटर देखि 2500 मिटरसम्म रहेको छ।वीउबाट यसको वेर्ना तयार गरिन्छ।यसको उपयोगी भाग पात र बोक्रा हो।फूल फूल्नु अगाडि पात संकलन गर्नु उपयुक्त हुन्छ र पात संकलन गरिएका स-साना हाँगाबाट बोक्रा निकालिन्छ। पात संकलन 5 वर्ष पुरानो रुखबाट गर्नुपर्दछ। रुखको प्रमुख काण्डबाट बोक्रा झिक्दा रुख सुक्ने गर्दछ।त्यसैले मुख्य काण्डबाट बोक्रा झिक्नु हुदैन।यसको पात तथा बोक्रा मसलाको रुपमा प्रयोग गरिन्छ र पातबाट सुगन्धित तेल निकालिन्छ।यसको तेलमा ढुसीनासक, मधुमेह रोगनासक तत्व पाइन्छ।कच्चा पदार्थको प्रशोधन गरी स्थानीयस्तरमै उद्योग स्थापना गरी बजारीकरण गर्न सकिने सम्भावना प्रचुर मात्रामा रहिआएको छ।तेजपात सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरूमा पाइन्छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update