Sagun Khabar
बैतडीको शिवनाथमा जिप दुर्घटना, चालक घाइते 

बैतडी–बैतडीको शिवनाथ गाउँपालिका–२ फट्केढुंगामा जिप दुर्घटना हुँदा चालक घाइते भएका छन् । 

शिवनाथको सुल्लेखानबाट शर्मालीतर्फ गइरहेको सुपप्र ०१००१ च ४१८० नम्बरको जिप शुक्रबार दिउँसो २ बजेर ४० मिनेटमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए । 

जिप दुर्घटना हुँदा जिपका चालक शिवनाथ गाउँपालिका–४ देगडा घर भएका अन्दाजी २८ बर्षीय योगेन्द्र भट्ट घाइते भएका छन् । उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको प्रहरी निरीक्षक बडूले बताए । घाइते भट्टको दुवै खुट्टामा चोट लागेको बताइएको छ । जिपमा चालकमात्रै रहेका बुझिएको छ । 

कच्ची सडकखण्डमा अनियन्त्रित भएर जिप सडकबाट ५० मिटर तल खसेको प्रहरी निरीक्षक बडूले बताए । 

दुर्घटनाको खबर पाउने बित्तिकै कुस्मौदघाट प्रहरीचौकीबाट प्रहरीको टोली घटनास्थलमा खटिएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update