Sagun Khabar
आमा–बुवा गुमाएका बैतडीका नवीन र गौराको घर निर्माण गरिँदै  

बैतडी –बैतडीको पाटन नगरपालिका–४ ज्यौडेका टुहुरा बालबालिका नवीन लावड र गौरा लावडका लागि घर निर्माण कार्यको शिलान्यास गरिएको छ । आमा र बुवा दुवैको मृत्यु भएपछि उनीहरुलाई बसोबास समस्या भएकाले घर निर्माण कार्य शुरु गरिएको थियो । घर निर्माणका लागि आवश्यक सामग्री जुटाएपछि घरको शिलान्यास गरिएको समाजेसेवी एवं जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक मानबहादुर चन्दले बताए । 

नवीन र गौरा दाजुबैनी हुन् । उनका आमाको ६ बर्ष अघि र बुवाको चार बर्ष अघि मृत्यु भएको थियो । आमा र बुवाको मृत्युपछि दुवै जनाको विचल्ली भएको छ । 

नवीन र गौराको पढाईका लागि काठमाण्डौंबाट समाजसेवी सहदेव सापकोटाले मासिक २ हजारका दरले सहयोग गर्दै आएका छन् । नवीन कक्षा १० र गौरा कक्षा ५ मा पढ्दै आएकी छन् । यस्तै भुमेश्वर माया घरले पनि विभिन्न ठाउँबाट सहयोग संकलन गरेर उनीहरुलाई सहयोग गर्दै आएको छ ।  

बास बस्नका लागि घर नभएपछि भुमेश्वर मायाघर र स्थानीयहरुको सहयोगमा घर निर्माणको काम भइरहेको भुमेश्वर मायाघरका सञ्चालक मानबहादुर चन्दले बताए । स्थानीयहरुले घर निर्माणका लागि श्रमदान गरिरहेका छन् भने निर्माण सामग्री खरीदका लागि सहयोग अभियान सञ्चालन गरिएको चन्दले बताए । 
नवीन र गौराका लागि दुई कोठे घर र शौचालय निर्माण गरिने चन्दले बताए । अन्य कामका लागि स्थानीयहरुले श्रमदान गर्ने र आवश्यक सरीया, सिमेन्ट,काठ लगायतका सामग्रीका लागि सहयोग अभियान सञ्चालन गरिएको चन्दले बताए । 
बुधबार घर निर्माण कार्यको शिलान्यास गर्दै पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल, पाटन नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपकसिंह बिष्ट र जिल्ला समन्वय समिति बैतडीका पूर्व प्रमुख सिद्धराज भट्टले घर निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update