Sagun Khabar
ग्राम प्रकाश बहुमुखी क्याम्पसको नाम परिवर्तन गर्ने तयारी 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिका २ शर्मालीमा सञ्चालन गरिएको ग्राम प्रकाश बहुमुखी क्याम्पसको नाम परिवर्तनका लागि पहल शुरु गरिएको छ । उक्त क्याम्पसको नाम शिवनाथ बहुमुखी क्याम्पस राख्ने गरेर तयारी भइरहेको शिवनाथ गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले बताए । 

त्रिभुवन विश्वविद्यालयले नयाँ क्याम्पस सञ्चालनका लागि स्वीकृति नदिँदा जलजला पर्वतमा रहेको ग्राम प्रकाश बहुमुखी क्याम्पसको ठाउँ सारी शिवनाथमा क्याम्पस सञ्चालन गरिएको हो । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको गएको फागुन ९ गतेको निर्णय अनुसार ग्राम प्रकाश बहुमुखी क्याम्पसको ठेगाना शिवनाथ गाउँपालिका २ शर्माली कायम गरिएको थियो । 

Atrya hospital

बिहीबार क्याम्पस सञ्चालक समितिको बैठक बसेर क्याम्पसको नाम परिवर्तनका लागि त्रिभुवन विश्वविद्यालयलाई आग्रह गर्ने निर्णय भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष दशरथ चाडले बताए । क्याम्पसको विधान संशोधन गर्ने निर्णय पारित गर्दै नाम परिवर्तनका लागि विश्वविद्यालयलाई आग्रह गर्ने निर्णय भएको उनले बताए । 

ग्राम प्रकाश बहुमुखी क्याम्पसमा यो बर्षदेखि शिक्षा शास्त्र संकाय र व्यवस्थापन संकायमा पठनपाठन शुरु गरिएको छ । स्वास्थ्य बिषयको पठनपाठनका लागि पनि विश्वविद्यालयबाट अनुमति लिने निर्णय गरिएको छ । 

ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई आफ्नै ठाउँमा उच्च शिक्षा हासिल गर्न सहज होस भनेर क्याम्पस सञ्चालनमा ल्याइएको क्याम्पस प्रमुख महामलसिंह साउँदले बताए । शर्मालीमा क्याम्पस सञ्चालनमा आएसंगै विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न नसेकका विद्यार्थीहरुलाई सहज भएको छ । 

क्याम्पस स्थापनाका लागि गाउँपालिकाले चालु आर्थिक बर्षमा १० लाख सहयोग गरेको छ । आगामी दिनमा समेत क्याम्पसका लागि पालिकाले निरन्तर सहयोग गर्ने गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update