Sagun Khabar
शिवनाथ पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा, स्वयंसेविकाहरुलाई नगदसहित सम्मान  

बैतडी–बैतडीको शिवनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरेर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

गाउँपालिकाभरी रहेका खोप पाउने उमेर समूहका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप प्राप्त गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए । 

पालिकाभरी जन्मदेखि १५ महिनासम्मका ३ सय १० जना र १६ देखि ५९ महिनासम्मका १ हजार २ सय २० जना बालबालिकाहरुले खोप पाएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । हरेक बर्ष पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ । 

Atrya hospital

गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा ७ जना उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको छ । उनीहरुलाई दोसल्लासहित सम्मानपत्र प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत महताले बताए । 

बालबालिकाहरुलाई विभिन्न १३ रोगविरुद्धका ९ ओटा खोपहरु नियमित रुपमा दिने गरिएको छ । 

गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले स्वास्थ्य क्षेत्र सुधारका लागि पालिकाले पहल गरिरहेको बताए । 

स्वयंसेविकाहरुलाई नगदसहित सम्मान 

शिवनाथ गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगदसहित सम्मान गरेको छ । स्वास्थ्य क्षेत्र सुधार, आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउन गरेको प्रयास र पालिकाले स्वास्थ्यका क्षेत्रमा गरिरहेको कामलाई सहयोग पुर्याएबाफत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगदसहित सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए । 

गाउँपालिकाभरी रहेका ४६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद ७ हजार ५ सयका दरले पालिकातर्फबाट हस्तान्तरण गर्नुका साथै सम्मानपत्र समेत प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत महताले बताए । 

महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई नगदसहित सम्मान गरिएको गाउँपालिका अध्यक्ष साउँदले बताए । उनले भने ‘ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउन महिला स्वास्थ्य स्वयंसेविकाहरुको महत्वपूर्ण योगदान रहेको छ । उनीहरुको योगदानको मूल्यांकन गर्दै हामीले सम्मान गरेका हौं ।’

Samman-1-1718086745.jpg
 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update