Sagun Khabar
बैतडीमा श्रीमानको कुटाईबाट श्रीमतिको मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा

बैतडी –बैतडीमा श्रीमानको कुटाईबाट श्रीमतिको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ४ चिल्लेपानीका ६२ बर्षीय प्रतापसिंह ऐरीले आफ्नै श्रीमति ६० बर्षीया सुना ऐरीमाथि मंगलबार कुटपीट गरेका थिए । 

श्रीमानको कुटाईबाट घाइते भएकी सुनाको बुधबार डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । 

Atrya hospital

घरायसी विवाद कारण मंगलबार दिउँसो श्रीमतिमाथि प्रतापले कुटपीट गरेका थिए । कुटपीटबाट घाइते भएकी सुनाको टाउकोमा चोट लागेको थियो । उनलाई  जिल्ला अस्पताल बैतडीबाट थप उपचारका लागि मंगलबार राति नै डडेल्धुरा रेफर गरिएको थियो । उपचारकै क्रममा सुनाको बुधबार साँझ ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतापको कुटपीटबाट उनकी बुहारी २२ बर्षीया भावना ऐरी समेत घाइते भएकी छन् । आफ्नी श्रीमतिमाथि कुटपीट गर्ने बेला झगडा छुट्याउन गएकी भावनाको खुट्टामा चोट रहेको प्रहरी निरीक्षक केसीले बताए । 

कुटपीट गरेर श्रीमतिको हत्या गर्ने प्रतापसिंह ऐरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई बुधबार नियन्त्रणमा लिएको र उनीमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए । ऐरीलाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको उनले बताए । 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update