Sagun Khabar
बालविवाह रोक्दै किशोरी 
फोटो :समीक्षा कार्यक्रमपछि किशोरी सहजकर्ताहरु 

बैतडी–जिल्लाको पाटन नगरपालिका ९ की शान्ति बिष्ट रुपान्तरण कक्षाकी सहजकर्ता हुन् । रुपान्तरण कक्षामा सहभागी किशोरीलाई उनी बालविवाहले पार्ने असरका बारेमा बताउँदै आएकी छिन् । रुपान्तरण कक्षामा हुने छलफलको सिकाई किशोरीहरुले घरमा अभिभावकहरुसंग भन्ने गरेका छन् । ‘हामीले रुपान्तरण कक्षामा बालविवाहले पार्ने असरका बारेमा छलफल गर्यौं । कक्षामा भएको छलफल घरमा अभिभावकहरुलाई जानकारी गरायौं । यसले कतिपय हुनै लागेका बालविवाह रोकिएका छन् ।’उनले भनिन् ‘हामीले सामूहिक रुपमा गएर अभिभावकहरुलाई सम्झाई बुझाई गर्दा गाउँका बालविवाह रोकिएका छन् । बालविवाह रोकिएका बहिनीहरु अहिले शिक्षा ग्रहण गर्दैछन् ।’

जिल्लाको पाटन नगरपालिका ३ की जयन्ती अवस्थी पनि गाउँमा बालविवाह रोक्ने अभियानमा सक्रिय भएकी छिन् । रुपान्तरण कक्षामा सहभागी भएपछि उनले बालविवाह हानिकारक प्रथा हो भनेर किशोरी मार्फत अभिभावकहरुलाई सिकाउन थालेका छिन् । उनले भनिन् ‘२० बर्ष मुनिको विवाह कानुन विपरीत हो भन्ने कुरा हामीले अभिभावकहरुलाई सिकाउने गरेका छौं । यसमा अभिभावकहरु पनि जानकार हुन थालेका छन् । पहिलाको तुलनामा अहिले बालविवाह कम भएका छन् ।’

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्लाको दशरथचन्द नगरपालिका २ की रेजिना टेलर बालविवाह न्यूनीकरणमा मात्रै होइन् अन्य सामाजिक कार्यमा पनि सरीक हुन्छिन् । उनले भनिन् ‘रुपान्तरण कार्यक्रमले मलाई व्यक्तिगत रुपमा पनि धेरै फाइदा पुगेको छ । बालविवाह न्यूनीकरणमा पनि हामीले सहयोग गरिरहेका छौं ।’

बैतडीमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले बालविवाह अन्त्यका लागि रुपान्तरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्लाका ५ ओटा स्थानीय तहमा बालविवाह अन्तयका लागि रुपान्तरण कार्यक्रम सञ्चालनमा रहेको रेडक्रसका कार्यक्रम संयोजक कमलापति भट्टले बताए । 

बैतडी धेरै बालविवा हुने मध्येको जिल्लामा परेको हुनाले बालविवाह न्यूनीकरणको अभियान सञ्चालन गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए । उनले भने ‘केही बर्ष पहिला गरेको अध्ययनले बैतडीमा ६० प्रतिशत बालविवाह हुने गरेको छ । यसले समग्र महिलाको जीवनमा समस्या पारेको हुनाले बालविवाह न्यूनीकरण अभियान सञ्चालन भएको हो । किशोरीहरुको प्रयासले बालविवाह न्यूनीकरणमा ठूलो सहयोग पुगेको छ ।’

बालविवाह न्यूनीकरणका लागि जिल्लाको शिवनाथ गाउँपालिकाले रणनैतिक योजना बनाईसकेको छ भने अन्य स्थानीय तहहरुले पनि तयारी गरिरहेका छन् । 

 

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update