Sagun Khabar
पूरा हुँदै सिगासबासीको सडक सपना 

बैतडी–सिगास गाउँपालिका वडा नं ६ का ७८ बर्षीय सोभानसिंह साउँदलाई अहिले नै गाउँमा सडक पुग्ला जस्तो लागेको थिएन् । गाउँमा गाडी गुड्ने सपना आफ्नो जीवनकालामा पूरा हुँदैन कि जस्तो उनलाई लागिरहेको थियो । तर गत साता गाउँपालिकाको केन्द्र गर्जेमा सडक पुगेपछि उनमा हर्षको सीमा छैन् । उनले भने ‘हामीले झुलाघाट, पिथौरागढ गएर पिठ्युमा भारी बोकेर सामग्री ल्याउने गरेका थियौं । अहिले गाउँमा सडक पुग्दा निकै खुसी लागेको छ । आफ्नै जीवनकालमा गाउँमा सडक पुगेपछि खुसी नहुने त कुरै भएन् ।’

सिगास ६ कै गणेश दमाई पनि गाउँपालिकाको केन्द्रमा सडक पुगेपछि निकै दंग छन् । गाडी हेर्नेकै लागि घण्टौं हिड्नुपर्ने सिगासबासीको बाध्यता अन्त्य भएकोमा उनी निकै खुसी देखिन्छन् । उनले भने ‘दुर्गम हाम्रो ठाउँमा पनि गाडी पुग्यो । सडक पुग्यो हामी निकै खुसी भएका छौं ।’

स्वास्थ्य सन्देश
Atrya hospital

सिगास गाउँपालिकाको ढुंगाड हुँदै गाउँपालिकाको केन्द्र गर्जेमा सडक पुगेको हो । स्थानीय नागरिकको चाहना अनुसार गाउँमा सडक पुगेपछि आफूहरु खुसी भएका स्थानीय राजेन्द्र साउँदले बताए । उनले भने ‘गाउँमा सडक पुगेपछि हामी निकै खुसी भएका छौं । यहाँका कृषि उपजलाई बजार सम्म पुर्याउन पनि सजिलो हुने भएको छ ।’

सिगासमा चिउरीको प्रशस्त सम्भावना रहेको छ । सडक पुगेसंगै चिउरीले बजार पाउने साउँदले बताए । उनले भने ‘सिगासमा चिउरीको प्रशस्त सम्भावना छ । चिउरीको गुड र घिउ त्यत्तिकै खेर गईरहेको थियो । अब सडक पुगेपछि यसले बजार पाउने हाम्रो विश्वास छ ।’

सिगास माहुरी पालनका लागि पनि निकै प्रसिद्ध ठाउँ हो । सडक अभावकै कारण त्यहाँको महले बजार पाएको थिएन् । सडक पुगेपछि महले पनि बजार पाउने अपेक्षा गरिएको छ । 

बैतडीकै मुख्य धार्मिक पर्यटकीय क्षेत्र सिगासधुरा पनि सिगास गाउँपालिकाकै पर्दछ । सिगासधुरा दर्शनका लागि पुग्ने नागरिकलाई पनि सडकले सहज बनाएको सिगास ९ चौखामका लक्ष्मी शाह चन्दले जानकारी दिइन् । उनले भनिन् ‘सिगासधुरा धार्मिक पर्यटकीय क्षेत्र हो । सो क्षेत्रमा पुग्ने चाहना राख्ने नागरिकका लागि पनि सडकले सहज हुनेछ ।’

गाउँपालिकाको केन्द्रमा सडक पुगेपछि विभिन्न सम्भवनाहरुको ढोका खुलेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए । करीब अढाई करोडको लागतमा गाउँपालिकाको केन्द्रमा सडक पुगेको उनले बताए । उनले भने ‘हामीले निर्वाचित हुने बेलामा सडक विस्तार गर्ने हाम्रो लक्ष्य रहेको थियो । सो लक्ष्य पूरा गर्न सफल भएका छौं । यसले हाम्रो कार्यकाल पनि सफल भएको छ ।’

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update