Sagun Khabar
सुदूरपश्चिममा आज ‘ठूली गौरा’मनाइँदै 

बैतडी –सुदूरपश्चिमेलीको मुख्य पर्व गौराको आज तेस्रो दिनमा ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’भनिने आजको दिनलाई ब्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन् । 

ब्रतालु महिलाहरुले बिहानै नुवाईधुवाई गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ । आज अमुक्ताभरण सप्तमी भएकाले ब्रतालु महिलाहरु एक ठाउँमा जमा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रही आएको पण्डित विष्णुदत्त पन्तले बताए । उनले भने ‘गौरादेवीको आराधना ब्रतालु महिलाहरुले फाग मार्फत गर्ने गरेका छन् । गौरादेवीलाई भित्र आएर बसीदिन उनीहरुले फाग मार्फत नै आग्रह गर्ने गरेका छन् ।’

स्वास्थ्य सन्देश
Atrya hospital

गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरेर ब्रतालु महिलाहरुले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन् । ब्रतालु महिलाहरुले धारण गर्ने बिशेष प्रकारको धागो अर्थात दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ । 

यसका साथै साँझको समयमा ब्रतालु महिलाहरुले कुण्ड स्नान गर्ने चलन रही आएको छ । आजको गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन ब्रतालु महिलाहरुले धारण गर्ने गर्दछन् । 

गौरापर्वको मुख्य दिन आज सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी ब्रतालु महिलाहरुले राति मिठोमसिनो खाना खाने चलन छ । 

गौराको मुख्यदिन भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ । तर यो बर्ष कोरोना कहरका कारण गौराको रौनकता नभएको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय प्रशासनले पनि गौराको समयमा भीडभाड नगर्न आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update