Sagun Khabar
पाकिस्तानमा बाढी र पहिरोका कारण २४ घण्टामा २ सय २५ जनाको मृत्यु 

पाकिस्तानमा मुसल्धारे वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण पछिल्लो २४ घण्टामा कम्तीमा दुई सय २५ जनाको मृत्यु भएको छ । खैबर पख्तुनख्वा प्रान्तमा मात्रै एक सय ८० जनाको मृत्यु भएको छ । 

पाकिस्तान प्रशासशित कश्मीरमा नौ जना र गिलगित–बाल्टिस्तान क्षेत्रमा पाँच जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये धेरैजसो महिला र बालबालिका छन् । उद्धार कार्यका क्रममा प्रान्तीय सरकारको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटसहित पाँच जनाले ज्यान गुमाएका छन् ।

पाकिस्तानको मौसम विभागले आउँदा दिनमा झनै ठूलो वर्षा हुने चेतावनी दिँदै जोखिमयुक्त ठाउँबाट टाढा रहन आग्रह गरेको छ । 

सरकारले आज शोकको दिन घोषणा गर्दै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । जलवायु परिवर्तनका कारण पाकिस्तानमा यस्ता चरम मौसम घटनाहरू बढ्दो क्रममा छन् । यो वर्षको मनसुन अवधिमा अहिलेसम्म पाँच सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update