लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः आजदेखि शुरू भएको छ । यस पटकको जनगणनाले देशको जनसाङ्ख्यिक वास्तविकतालाई नयाँ ढङ्गले उजागर गर्दै कल्याणकारी कार्यक्रमदेखि राजनीतिक संरचनासम्म व्यापक प्रभाव पार्ने अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।
विश्वकै सबैभन्दा ठूलो जनसङ्ख्या गणनाका रूपमा हेरिएको यस अभियानले १ अर्ब ४० करोडभन्दा धेरै मानिसको विवरण सङ्कलन गर्ने लक्ष्य राखेको छ । यसअघि सन् २०११ मा भएको जनगणनाले भारतको जनसङ्ख्या १ अर्ब २१ करोड रहेको देखाएको थियो । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषकाअनुसार भारतले सन् २०२३ मा १ अर्ब ४० करोड जनसङ्ख्यासहित चीनलाई उछिनेको छ ।
सन् २०२१ मै शुरू गर्ने योजना भए पनि कोभिड–१९ महामारी र व्यवस्थापकीय चुनौतीका कारण जनगणना स्थगित हुँदै आएको थियो ।
आजदेखि शुरू भएको जनगणनाको पहिलो चरण आउँदो सेप्टेम्बरसम्म सञ्चालन हुनेछ । यस अवधिमा खटाइएका कर्मचारीहरूले घरपरिवारको अवस्था, उपलब्ध सुविधा तथा आवाससम्बन्धी विवरण सङ्कलन गर्नेछन् । यस पटक परम्परागत घरदैलो सर्वेक्षणसँगै डिजिटल प्रविधिको प्रयोगलाई पनि जोड दिइएको छ । बहुभाषी स्मार्टफोन एपमार्फत नागरिकले स्वयम् पनि आफ्नो विवरण पेश गर्न सक्नेछन् जसमा उपग्रह–आधारित म्यापिङ प्रणालीसमेत समावेश छ ।
दोस्रो चरण आउँदो सेप्टेम्बरदेखि अप्रिल १ सम्म सञ्चालन हुनेछ जसमा व्यक्तिको सामाजिक र आर्थिक अवस्थासहित धर्म र जातिसम्बन्धी विस्तृत विवरण सङ्कलन हुनेछ । यस पटकको जनगणनामा झन्डै ३० लाख सरकारी कर्मचारी परिचालन हुने अनुमान छ ।
यस पटकको जनगणनाको सबैभन्दा संवेदनशील पक्ष भनेको जातिगत विवरणको सङ्कलन हो । भारतमा जाति प्रणाली ऐतिहासिक रूपमा गहिरो सामाजिक संरचनासँग जोडिएको छ जसले शिक्षा, रोजगारी र आर्थिक अवसरमा पहुँच निर्धारण गर्ने गरेको छ । यद्यपि देशमा विभिन्न जाति समूहहरूको यथार्थ जनसङ्ख्या कति छ भन्ने विषयमा अद्यावधिक तथ्याङ्क अभाव छ । पछिल्लो पटक सन् १९३१ मा औपनिवेशिक शासनकालमा विस्तृत जातिगत गणना भएको थियो ।
स्वतन्त्रतापछि सन् १९५१ देखि भारतले केवल अनुसूचित जाति र जनजाति — अर्थात् दलित र आदिवासी समुदाय — को मात्र गणना गर्दै आएको थियो । पूर्ण जातिगत गणनाले सामाजिक तनाव बढाउन सक्ने आशङ्का व्यक्त गर्दै अघिल्ला सरकारहरूले यसलाई टार्दै आएका थिए । तर अहिलेको प्रयासले नीति निर्माणका लागि आवश्यक यथार्थपरक तथ्याङ्क उपलब्ध गराउने अपेक्षा छ ।
जनगणनाबाट प्राप्त तथ्याङ्कले भारतको राजनीतिक संरचनामा पनि प्रत्यक्ष असर पार्न सक्छ । जनसङ्ख्या वृद्धिलाई आधार बनाएर संसद्को तल्लो सदन र राज्य विधानसभाहरूमा सिट सङ्ख्या पुनः निर्धारण गरिन सक्छ । सन् २०२३ मा पारित कानूनअनुसार महिलाका लागि एकतिहाइ सिट आरक्षित गरिएको छ, त्यसैले सिट विस्तार भएमा महिला प्रतिनिधित्व पनि स्वतः बढ्नेछ ।




