बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले पालिकास्तरीय कक्षा –८ को परीक्षाफल प्रकाशित गरेको छ । गाउँपालिकाले प्रकाशित गरेको नतिजा अनुसार २९.९ प्रतिशत परीक्षार्थीमात्रै उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका ७०.१० प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए ।
यही चैत ५ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको कक्षा ८ को पालिकास्तरीय परीक्षामा पालिकाभरीका १९ विद्यालयका ४ सय ५३ जनामध्ये ४ सय ४२ जना सहभागी भएका थिए । परीक्षामा १२ जना अनुपस्थित रहेका थिए ।
परीक्षामा सहभागी भएका ४ सय ४२ जनामध्ये १ सय ३२ जना मात्रै उत्तीर्ण भएका शिक्षा शाखा प्रमुख अवस्थीले बताए । परीक्षामा दुईओटा विद्यालयको नतिजा शून्य आएको छ ।
कैलपाल मावि झाड्बो र भुवनेश्वर मावि गोयलीको नतिजा शून्य आएको हो । कैलपाल माविका ३२ जना परीक्षार्थी सहभागी भएकोमा सबै अनुत्तीर्ण भएका छन् भने भुवनेश्वर मावि गोयलीका १६ जना परीक्षार्थी मध्ये १५ जना परीक्षामा सहभागी भएका र सबै अनुत्तीर्ण भएका गाउँपालिकाले जनाएको छ ।
राष्ट्रिय मावि फाटीगडाका ४५ जनामध्ये ३ जना उत्तीर्ण भएका छन् । यस्तै वासुदेव आवि तडीगाउँका १४ जनामध्ये ४ जना, वासुदेव मावि लिस्किटाका २७ मध्ये २०, भूमीराज मावि ढोलेका ३० मध्ये ४,विश्वेश्वर आवि बाँसका ८ मध्ये १, गलिनाथ आवि चौकाका २१ मध्ये १२, केदार आवि डुङरीका ५ मध्ये ४ र केदार मावि कठमडाका २१ मध्ये २ जना उत्तीर्ण भएका छन् ।
नेपाल राष्ट्रिय मावि ग्वानीका ४४ मध्ये ४२ जना परीक्षामा सहभागी भएका र ती मध्ये ६ जना उत्तीर्ण भएका छन् । पञ्चदेव आवि डबरालीका १७ मध्ये ४ जना उत्तीर्ण भएका छन् भने रौलेश्वर मावि रामकी बरायलका ३४ मध्ये ३३ जना परीक्षामा सहभागी भएका र ती मध्ये २० जना उत्तीर्ण भएका छन् ।
शंकर संस्कृत मावि मूलखटालीका ४२ जनामध्ये ३८ जना परीक्षामा सहभागी भएका र ती मध्ये १२ जना उत्तीर्ण भएका छन् । यस्तै भुवनेश्वर मावि चौथालीका १६ जना मध्ये ५ जना, सिद्धनाथ आवि धुलिधारका १३ जनामध्ये १२ जना परीक्षामा सहभागी भएका र ती मध्ये १ जना मात्रै उत्तीर्ण भएका छन् ।
सिगास मावि मुसेका ३४ जनामध्ये ३१ जना परीक्षामा सहभागी भएका र ती मध्ये १६ जना उत्तीर्ण भएका छन् । यस्तै उच्चाकोट मावि गुर्केलीका २१ मध्ये ९ जना र उदयदेव मावि पालिगडाका १३ मध्ये ९ जना उत्तीर्ण भएका सुर्नया गाउँपालिकाले जनाएको छ ।
सुर्नयामा गत बर्षको तुलनामा यो बर्षको कक्षा ८को नतिजा खस्केको छ । गत बर्ष ५० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।






