Sagun Khabar
बारीमै पुगेर अनुभव साटासाट गर्दै बैतडीका किसान 

बैतडी –बैतडीका विभिन्न ठाउँका व्यवसायिक किसानहरु बारीमै पुगेर आफ्ना अनुभव साटासाट गर्न थालेका छन् । व्यवसायिक रुपमा तरकारी खेतीमा लागेका किसानहरु एक ठाउँबाट अर्को ठाउँको किसानको बारीमा पुगेर अनुभव साटासाट गर्न थालेका हुन् ।

’व्यवसायिक तरकारी खेतीलाई अझै प्रभावकारी बनाउन र आफ्ना अनुभव र सीपहरु आदानप्रदान गर्नका लागि किसानहरु एकठाउँबाट अर्को ठाउँमा जाने गरेका दशरथचन्द नगरपालिकाका २ का किसान मोहनबहादर थलालले बताए । उनले भने ‘हामी दशरथचन्द नगरपालिका १ को सतबाँझमा काउली तथा बन्दा खेतीको बारेमा जानकारी लियौं । हामीहरुका समस्याहरु एकआपसमा आदानप्रदान पनि गर्यौं ।’

स्वास्थ्य सन्देश
Atrya hospital

दशरथचन्द नगरपालिका वडा नं २ थलालगाउँमा प्याजको बीउ उत्पादन हुने भएकाले त्यो बारेमा सतबाँझ क्षेत्रका किसानहरुलाई समेत जानकारी दिएको उनले बताए । उनले भने ‘हामी एकअर्को ठाउँका किसानहरु एकै ठाउँमा भेला भएर अनुभव आदानप्रदान गर्न पायौं । यसले हामीले गर्ने कृषि पेशालाई अझ सहयोग मिलेको छ ।’

सिप्रेडको सहयोगमा सञ्चालन भईरहेको नेपाल सिड एण्ड फर्टिलाइजर प्रोजेक्टर अन्तर्गत किसानहरु अनुभव आदानप्रदानका लागि एकठाउँबाट अर्को ठाउँमा जाने गरेका हुन् । तरकारी खेतीमा आवद्ध भएका किसानहरुलाई एक अर्को ठाउँको अनुभवले धेरै सिकाई हुने गरेको दशरथचन्द नगरपालिका १ का पार्वती भट्टले बताइन् । उनले भनिन् ‘हामीले पनि अहिले बन्दा र काउली खेती गरेका छौं । यसरी एक आपसमा अनुभव आदानप्रदान गर्न पाउँदा हामीलाई एक अर्काबाट सिकाइ हुन्छ र यसले सजिलो पनि हुने गरेको छ ।’

दशरथचन्द नगरपालिका वडा नं १ र २ का किसानहरुको बारीमै पुगेर किसानहरुले अनुभव आदानप्रदान गर्ने गरेको सिप्रेडका कार्यक्रम संयोजक भुवन भट्टले बताए । उनले भने  ‘किसानहरुको समस्याहरुलाई समाधान गर्न र अनुभव साटासाट गर्नका लागि हामीले किसानहरुलाई एकठाउँमा भेला हुने कार्यक्रम राख्ने गरेका छौ । यसले किसानहरुका समस्या समाधानका लागि सहयोग पुग्छ ।’

कृषक दिवसका रुपमा किसानहरुलाई एकठाउँबाट अर्को ठाउँका किसानको बारीमा पुग्नका लागि समन्वय गर्ने गरिएको भट्टले बताए ।  किसानहरुलाई एकै ठाउँमा प्राविधिक ज्ञान र सीप दिने तथा उनीहरुलाई प्राविधिक सल्लाह दिनका लागि यो कार्यक्रम राख्ने गरिएको भट्टले बताए ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update