Sagun Khabar
तपाँईको मास्क खोई ? 
फोटो : तपाँईको मास्क खोई ? अभियानमा सरीक प्रहरी 

बैतडी–तपाँई मास्क नलगाएरै घर बाहिर निस्किनुहुन्छ भने तपाँई गलत गर्दै हुनुहुन्छ । कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि सकभर घर बाहिर ननिस्कनोस निस्कनै परे मास्क लगाउनुहोस । मास्क नलगाएरै घर बाहिर निस्केमा तपाँईलाई प्रहरीले तपाँईको मास्क खोई भनेर सोधिहाल्छ । 

बैतडीमा प्रहरीले तपाँईको मास्क खोई ? अभियान सञ्चालन गरेको छ । कोरोना भाईरसको संक्रमण तीव्र रुपमा फैलिरहेकाले स्वास्थ्य मापदण्डका बिषयमा नागरिकलाई सचेत बनाउन यो अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिए । उनले भने ‘कोरोनाको दोश्रो लहर फैलिसकेको छ । यो अवस्थामा पनि नागरिक अझै सचेत हुन सकेका छैनन् । त्यसैले हामीले तपाँईको मास्क खोई ? अभियान सञ्चालन गरेका हौं ।’

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्रले संयुक्त रुपमा सो अभियान सञ्चालन गरेको प्रहरी निरीक्षक ऐरीले बताए । सडकमा बिना मास्क भेटिएका नागरिकलाई सम्झाई बुझाई गर्दै निशुल्क रुपमा मास्क वितरण  गर्ने गरिएको उनले सुनाए । उनले भने ‘अहिले कोरोना भाईरसबाट बच्नका लागि सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क लगाउनुपर्ने र बेलाबेलामा साबुनपानीले हात धुने अथवा सेनेटाइजरको प्रयोग गर्नुपर्ने कुरा महत्वपूर्ण । यिनै कुरा हामी नागरिकलाई जानकारी दिईरहेका छौं ।’

जिल्लाभरी प्रहरीले तपाँईको मास्क खोई ? अभियान सञ्चालन गरेको प्रहरीले जनाएको छ । यो अभियान कोरोना भाईरसको संक्रमण फैलिन नदिन सहयोग पुर्याउने प्रहरीको विश्वास छ ।

अहिले सम्म दुई सय बढी नागरिकलाई निशुल्क रुपमा मास्क वितरण गरिसकिएको बताइएको छ । नेपाल सरकारले जारी गरेका स्वास्थ्य मापदण्डको परिपालन गर्न सबैलाई आग्रह गर्दै जिल्लाभरी तपाँईको मास्क खोई ? अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ । 

कोरोना भाईरसबाट बच्नका लागि अनावश्यक रुपमा हिडडुल नगर्न समेत प्रहरीले आग्रह गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update