Sagun Khabar
बैतडीमा बलिका लागि राँगा भित्रिँदै

बैतडी - बैतडीमा बडादसैँ सुरु भएसंगै ऐतिहासिक तथा प्रसिद्ध शक्तिपीठहरूमा बलिका लागि राँगा र बोका भित्र्याउने क्रम तीव्र बनेको छ।

जिल्लाका प्रमुख मन्दिरहरूमा बलिको संकल्पसहित भक्तजनहरूले स्थानीय बजार तथा आसपासका बस्तीहरुका विभिन्न स्थानहरूबाट राँगा र बोका ल्याइरहेका छन्। जिल्लाका प्रसिद्ध निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङासैनी, कालशैनी भगवतीका मन्दिरहरुमा र उदयदेव मन्दिरमा दशैँको बेला बिशेष पूजाआजा सहित बलि दिने चलन रहेको छ । परम्पराअनुसार पशुबलिसहित पूजा हुने भएकाले बलिका लागि राङ्गा तथा बोका भित्री रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बडादसैँसँगै विभिन्न शक्तिपीठमा विशेष पूजाआजा तथा जात्राको तयारी तीव्र बनेको छ। दसैँका बेला लाग्ने जात्रा र परम्परागत पूजाआजाका लागि जिल्लाका प्रसिद्ध भगवती मन्दिरमा भक्तजनको चहलपहल बढ्न थालेको छ। धार्मिक परम्पराअनुसार पूजा गर्ने तयारीसँगै जिल्लाका विभिन्न स्थानमा राँगा तथा बोका भित्रिने क्रम बढेको स्थानीय सुमित भट्टले बताए ।

ranggaa-2-1792038443.jpg
 

बैतडीका निङ्गलाशैनी भगवती, त्रिपुरासुन्दरी भगवती, मेलौली भगवती, डिलासैनी भगवती तथा उदयदेव मन्दिरलगायतका धार्मिक स्थलमा दसैँका अवसरमा विशेष पूजा तथा जात्रा हुने गरेका छन्। यी मन्दिरमा बैतडीसहित सुदूरपश्चिमका अन्य जिल्ला तथा छिमेकी मुलुक भारतबाट समेत भक्तजन आउने गर्छन्। दशरथचन्द नगरपालिका २ देहीमाण्डौँस्थित निङ्गलाशैनी भगवती मन्दिर बैतडीको प्रमुख धार्मिक शक्तिपीठमध्ये एक हो। यहाँ घटस्थापनादेखि नै नियमित पूजाआजा हुने र महासप्तमी तथा महाष्टमीका अवसरमा विशेष जात्रा लाग्ने परम्परा रहेको छ। मन्दिरमा सप्तमीका दिन राँगा बाँध्ने तथा अष्टमीका दिन विशेष पूजाआजा सहिय बलि गर्ने चलन रहेको निङ्गलाशैनी भगवतीका मुल पुजारी देव दत्त भट्टले बताए ।

यस्तै, दशरथचन्द नगरपालिका ८ स्थित त्रिपुरासुन्दरी भगवती मन्दिर, मेलौली नगरपालिकास्थित मेलौली भगवती मन्दिर र पाटन नगरपालिका ६ स्थित उदयदेव मन्दिरमा पनि दसैँका अवसरमा विशेष मेला सहित जात्रा हुने गर्दछ । पुर्चौंडी क्षेत्रको डिलासैनी भगवती तथा डिलासैनी गाउँपालिकाको कफलासैनी भगवती मन्दिरमा समेत बलि गर्ने परम्परा रहेको छ ।  बैतडीका शक्तिपीठमा दसैँका बेला लाग्ने जात्रा धार्मिक आस्था, स्थानीय संस्कृति र परम्परासँग जोडिएका छन्। जात्रामा सहभागी हुन टाढाटाढाबाट भक्तजन आउने भएकाले मन्दिर आसपासका क्षेत्रमा समेत चहलपहल बढ्ने गरेको छ।

ranggaa-3-1792038471.jpg
 

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update