जिल्ला अस्पताल बैतडीमा हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ सेवा पुनः सुचारु

बैतडी–जिल्ला अस्पताल बैतडीमा हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ सेवा फेरि सुचारु भएको छ । एक महिनासम्म अवरुद्ध भएको उक्त सेवा बिशेषज्ञ चिकित्सक हाजिर भएसँगै सुचारु भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । 

जिल्ला अस्पतालमा हाडजोर्नी तथा नसा रोश बिशेषज्ञ हाजिर भएसँगै हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामीहरुलाई सेवा प्राप्तिमा सहज भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. अरविन्द जोशीले बताए । 

हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ अस्पतालमा हाजिर भएसँगै हातखुट्टा भाँचिएको प्लास्टर तथा अप्रेशन, ढाड तथा कम्मर दुख्ने समस्या,घुँडा दुख्ने तथा सुन्निने समस्या, नसा च्यापिएको तथा नसा कमजोर भएको समस्या, पैतला तथा पाता पोल्ने समस्या, जन्मजात हातखुट्टा बाङ्गो भएको समस्याको उपचार, दुर्घटना वा प्लास्टरपछि भएको हड्डीसम्बन्धी समस्या, सबै प्रकारका हाडजोर्नी र नसासम्बन्धी समस्या भएका बिरामीहरुको उपचार गरिने डा. जोशीले बताए । 

हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ सेवा सुचारु भएपछि यो सम्बन्धी समस्या भएका बिरामीहरुलाई बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको बताइएको छ । 

यस्तै एक महिना रोकिएको दन्तरोग बिशेषज्ञ सेवा पनि अस्पतालमा पुनः सुचारु भएको अस्पताल सूचना अधिकारी पन्तले बताए । दाँतसम्बन्धी समस्या भएका बिरामीहरुलाई अस्पतलामा आएर सेवा लिन समेत आग्रह गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  ०९:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update