Sagun Khabar
बैतडीमा दशैँका बेला लाग्ने जात्रामा भारतीय व्यापारीको लाखौँको कारोबार

बैतडी - बैतडीका प्रसिद्ध शक्तिपीठ तथा मन्दिरहरूमा दशैँका बेला लाग्ने मेला तथा जात्रामा भारतीय व्यापारीले लाखौँ रुपैयाँको व्यापार गर्ने गरेका छन्।

जिल्लाका विभिन्न स्थानमा लाग्ने जात्रालाई लक्षित गरी भारतबाट आउने व्यापारीले एक महिनाको अवधिमा कम्तीमा १० लाख रुपैयाँसम्मको कारोबार गर्ने गरेको बताइएको छ। भारतीय व्यापारीहरुले दशैको बेला लाग्ने निङ्गालाशैनी भगवती, मेलौली भगवती, त्रीपुरासुन्दरी भगवती तथा पाटन नगरपालिका ६ स्थित उदयदेव मन्दिरको जात्रामा अस्थायी रुपमा खाद्य पसल संचालन गर्दै आएका छन । उक्त समयमा शक्तिपीठ तथा मन्दिरमा लाग्ने मेला र जात्रामा भारतीय व्यापारीले परम्परागत मिठाई, जेरी तथा अन्य खाद्य सामग्री बिक्री गर्ने गरेका स्थानीय सुमित भट्टले बताए । जात्रामा सहभागी हुने भक्तजन तथा दर्शनार्थीको चहलपहललाई लक्षित गरी आफुहरु मेला सुरु हुनुभन्दा करिब एक महिनाअघि नै बैतडी पुग्ने गरेका भारतीय व्यापारी शनि देवल कुशवहाले बताए ।

Jeri-Pic-5-1792240294.jpg
 

विशेषगरी भारतको मथुरा र वृन्दावनबाट आउने व्यापारीले दशैँका बेला लाग्ने मेला तथा जात्रामा मिठाई र अन्य खाद्य सामग्रीका पसल सञ्चालन गर्दै, जात्रा लाग्ने स्थानमा अस्थायी पसल स्थापना गरी व्यापार गर्ने गरेका भारतीय व्यापारी सत्य प्रकाश कुशवहाले बताए । बैतडीमा दशैँका बेला प्रसिद्ध शक्तिपीठ तथा मन्दिरहरूमा लाग्ने जात्रामा जिल्लाभित्रका मात्रै नभई छिमेकी जिल्ला तथा भारतको सीमावर्ती क्षेत्रबाट समेत भक्तजन आउने गर्छन्।

जात्रामा हुने मानिसको ठूलो जमघटले स्थानीय बजार तथा व्यापारिक गतिविधिमा समेत चहलपहल बढाउने गरेको छ। उक्त समयमा विभिन्न स्थानमा लाग्ने मेला तथा जात्रामा व्यापार गर्दा भारतीय व्यापारीले उल्लेख्य आम्दानी गर्ने गरेका छन्। उनीहरूको कारोबारले दशैँका बेला बैतडीका धार्मिक तथा सांस्कृतिक स्थलमा हुने आर्थिक गतिविधिको एउटा पाटोलाई समेत उजागर गरेको स्थानीय प्रकाश भट्टले बताए ।

Jeri-Pic-1-1792240320.jpg
 

यद्यपि, भारतीय व्यापारीले गर्ने कारोबारको यकिन तथ्याङ्क तथा त्यसबाट हुने आम्दानीबारे आधिकारिक विवरण उपलब्ध हुन सकेको छैन। बजारमा बिक्री हुने खाद्य सामग्रीको गुणस्तर, स्वच्छता, मूल्य र व्यापारिक कारोबारको पारदर्शितामा सम्बन्धित निकायको निगरानी गर्नु पर्ने स्थानीयहरुले बताएका छन ।

बैतडीका धार्मिक तथा सांस्कृतिक जात्रा केवल आस्था र परम्परासँग मात्र जोडिएका छैनन्, यस्ता मेलाले स्थानीय आर्थिक गतिविधि बढाउन र सीमापार व्यापारलाई समेत चलायमान बनाउन भूमिका खेल्दै आएका छन्। जिल्लाका अधिकांश ठाउँमा दशै संगै ठूलो जात्रा हुने गर्दछन । जात्रालाई लक्षित गर्दै आफुहरु करिब १४ वर्षदेखि बैतडीका विभिन्न ठाउँमा खाद्य पसल संचालन गर्दै आएका भारतीय व्यापारी  भुपेन्द्र ठाकुरले बताए ।

Jeri-Pic-4-1792240341.jpg
 

प्रकाशित मिति: शनिबार, असोज ३१, २०८३  १८:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update