बैतडी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको कार्यवाहक सभापतिको जिम्मेवारी प्रदेश उपसभापति भोजराज जोशीलाई दिइएको छ।
प्रदेश कार्यालय धनगढीले जारी गरेको पत्रअनुसार प्रदेश सभापति आकस्मिक व्यावसायिक भ्रमणका लागि चीन जानुपर्ने भएपछि जोशीलाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएको हो।
जोशीले २०८३ असोज ३० गतेदेखि कात्तिक १० गतेसम्म कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नेछन्। यस अवधिमा उनले प्रदेशमा पार्टीका संगठनात्मक गतिविधि सञ्चालन, समन्वय तथा आवश्यक कार्यहरूको नेतृत्व गर्नेछन्।
सभापति चीन भ्रमणमा रहे पनि फोन तथा ह्वाट्सएपमार्फत पार्टीका गतिविधिबारे निरन्तर सम्पर्कमा रहने र आवश्यक सल्लाह तथा सुझाव दिने पत्रमा उल्लेख छ।
जोशीलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएसँगै उक्त अवधिमा सुदूरपश्चिम प्रदेशमा पार्टीका गतिविधि सञ्चालन र संगठनात्मक समन्वयको जिम्मेवारीसमेत उनको काँधमा आएको छ।
यस निर्णयको बोधार्थ रास्वपाको केन्द्रीय कार्यालय वनस्थली, काठमाडौं तथा केन्द्रीय संगठन विभाग बालाजु, काठमाडौंलाई समेत पठाइएको प्रदेश कार्यालयले जनाएको छ।




